काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा सम्पन्न २०२५ पब्जी मोबाइल सुपर लिग सेन्ट्रल एन्ड साउथ एसिया फल सिजन सम्पन्न भएको छ । छ दिनसम्म चलेको प्रतियोगिताको यो सिजन तीव्र प्रतिस्पर्धा, रणनीति र अविस्मरणीय क्षणहरूले भरिपूर्ण रहेको थियो ।
यस रोमाञ्चक सिजनपछि छ टोलीले २०२५ पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (पीएमजीसी)का लागि आफ्नो स्थान सुरक्षित गरेका छन् । भर्चस प्रो, अल्फा गेमिङ र म्याड बुल्सले आफ्नो उत्कृष्ट ¥याकिङ आधारमा पीएमजीसी गन्टलेट स्टेजमा स्थान पाएका छन् भने आर्केड, इनर सर्कल र गोटले आफ्नो पीएमजीसी रेटिङ पोइन्ट्सका आधारमा पीएमजीसी ग्रुप स्टेजमा स्थान सुरक्षित गरेका छन् ।
नेपालबाट होरा इ–स्पोट्र्स, फोर योनको रोयल जुत्ती र नेपेक्स इ–स्पोट्र्सले पीएमएसएल ग्रुप स्टेजमा नेपालको राम्रो प्रतिनिधित्व गरेका थिए । असाधारण टिमवर्क र कौशल प्रदर्शन गर्दै होरा इ–स्पोट्र्स र फोर योनको रोयल जुत्ती दुवै टोलीले अन्तिम चरणसम्मको यात्रा तय गरेका थिए । यसले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली इ–स्पोट्र्स समुदायको बढ्दो क्षमता र प्रभावलाई प्रदर्शन गरेको छ । नेपाली टोलीमध्ये होरा इ–स्पोट्र्सले उत्कृष्ट प्रदर्शन गर्दै अमेरिकी डलर ११ हजार सात सय ५०, फोर योनको रोयल जुत्तीले अमेरिकी डलर चार हजार सात सय ५० र नेपेक्स इ–स्पोट्र्सले अमेरिकी डलर एक हजार सात सय ५० नगद पुरस्कार प्राप्त गरे ।