काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘सिल्भर भोलिन्टियर कार्यक्रम’ सुरु गरेको छ । ४५ वर्षमाथिका अनुभवी र परिपक्व नागरिकको ज्ञान, सीप र क्षमतालाई समाज र सहर विकासमा भरपुर उपयोग गर्ने मुख्य उद्देश्यले यो कार्यक्रम सुरु गरिएको हो ।
कामपाले विभिन्न क्षेत्रमा लामो अनुभव हासिल गरेका नागरिकलाई अवकाशपश्चात् पनि समाज र देशको विकासमा योगदान दिने अवसर प्रदान गर्न यो कार्यक्रम ल्याइएको कामपा सहरी योजना आयोगका सचिवालय सदस्य विवेक बास्तोलाले जानकारी दिए । कार्यक्रममार्फत शिक्षा, स्वास्थ्य, सरसफाइ, वातावरण, प्रशासन, सहरी विकास, सम्पदा संरक्षणलगायतका क्षेत्रमा कामपासँग मिलेर काम गर्न सकिने जनाइएको छ । महानगरले ‘कामपा–सिल्भर–भोलिन्टियर–कार्यविधि’बमोजिम आवेदन आह्वान समेत गरेको छ । कार्यविधिमा उल्लेख भएअनुसार योग्यता पुगेका नागरिकले अनलाइन लिड्ढमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
उक्त कार्यक्रमका लागि कामपाले समयसीमा निर्धारण गरेको छ । यसको लागि नेपाली नागरिक/गैरआवासीय नेपाली/प्रचलित कानुनबमोजिम स्वीकृति लिएका विदेशी नागरिक, जसको ४५ वर्ष पूरा भई ७४ वर्ष ननाघेको हुनुपर्नेछ ।
त्यस्तै, कुनै क्षेत्रमा सरकारी, निजी वा गैरसरकारी संस्थामा कम्तीमा २० वर्ष काम गरी विषयगत दक्षता हासिल गरेको रहनुपर्ने कामपाको भनाइ रहेको छ । एक वर्ष अवधिका लागि हप्ताको न्यूनतम पाँच घण्टा सेवा दिन तयार हुनुपर्ने, शारीरिक र मानसिकरूपमा काम गर्न सक्षम रहेको हुनुपर्ने, पूर्णरूपमा स्वयंसेवा गर्न इच्छुक रहेको, समितिले तोकेको कामपाभित्रका क्षेत्रमा गई काम गर्न तयार रहनुपर्नेछ ।
त्यसैगरी, आफूले पाएको जिम्मेवारी इमान्दारीपूर्वक गर्ने तथा प्रतिफल निकाल्न क्षमता रहनुपर्ने, कुनै पनि फौजदारी अभियोगमा कसुरदार नठहरिएको, प्रचलित कानुनबमोजिम अयोग्य नठहरिएको, समितिले तोकेका अन्य योग्यता पूरा भएको महानगरका अनुसार, यस कार्यक्रमले एकातिर परिपक्व नागरिकको अनुभवलाई देश निर्माणमा उपयोग गर्न सहयोग गर्नेछ भने अर्कातिर अनुभवी नागरिकलाई समाजसेवाको माध्यमबाट सन्तुष्टि र अवसर प्रदान गर्नेछ जनाएको छ । इच्छुक व्यक्तिलाई कार्यक्रमका बारेमा जानकारी आवश्यक परे ९८४८०१८२१५ मा सम्पर्क गर्न समेत कामपाले आग्रह गरेको छ ।