ब्रसेल्स । बेइजिङले धेरै प्रमुख क्षेत्रमा आवश्यक खनिज निर्यातमा थप प्रतिबन्ध लगाउने घोषणा गरेसँगै ईयूले चीनबाट दुर्लभ खनिजमाथिको निर्भरता अन्त्य गर्न काम गरिरहेको शनिबार युरोपेली सङ्घका प्रमुख उर्सुला भोन डेर लेयनलले बताएकी छिन् ।
एएफपीका अनुसार विश्वको सबैभन्दा धेरै दुर्लभ खनिज उत्पादन गर्ने मुलुक चीनले खनिज प्रविधिको निर्यातमा लगाएको नयाँ नियन्त्रणले युरोपेली सङ्घका केही कम्पनीहरूलाई उत्पादन रोक्न बाध्य पारेको र आर्थिक नोक्सान पुगेको युरोपेली सङ्घले बताएको छ । ईयू प्रमुख भोन डेर लेयनले भनिन्, “यसको उद्देश्य हाम्रा युरोपेली उद्योगहरूका लागि छोटो, मध्यम र दीर्घकालीनरूपमा महत्वपूर्ण कच्चा सामानको वैकल्पिक स्रोतहरूमा पहुँच सुरक्षित गर्नु हो।’
अप्रिलदेखि बेइजिङले केही निश्चित निर्यातका लागि लाइसेन्स आवश्यक गरेको छ, जसले विश्वव्यापी उत्पादन क्षेत्रहरूमा तरङ्ग सिर्जना गरेको छ । चीनले यसै महिना अटो, इलेक्ट्रोनिक्स र रक्षा उद्योगका लागि म्याग्नेटलाई महत्वपूर्ण बनाउन प्रयोग गरिने दुर्लभ खनिज प्रविधिको निर्यातमा नयाँ नियन्त्रणको घोषणा गरेको छ।
‘ईयू योजनाको एक महत्वपूर्ण सुरुवात पुनः प्रशोधन हुनेछ’, भोन डेर लेयनले भनिन्, ‘केही कम्पनीहरूले ९५ प्रतिशत महत्वपूर्ण कच्चा माल र ब्याट्रीहरू रिसाइकल गर्न सक्छन् ।’
उनले ईयू समूहले ‘महत्वपूर्ण कच्चा पदार्थको उत्पादन र प्रयोगपछि भने पुनः प्रशोधन प्रक्रिया’ मा पनि ध्यान केन्द्रित गर्ने र ‘युक्रेन, अस्ट्रेलिया, क्यानाडा, कजाकिस्तान, उज्बेकिस्तान, चिली र ग्रिनल्यान्डजस्ता देशहरूसँग महत्वपूर्ण कच्चा माल खरिदका लागि साझेदारी गर्ने उल्लेख गरिन् ।