काठमाडौं । धितोपत्र बजारको दुईवटै नियमनकारी निकाय नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेड आन्दोलन नै आन्दोलनमा जेलिएको छ । अर्थ मन्त्रालयले यसअघि गरेको अनावश्यक खर्च कटौतीसम्बन्धी व्यवस्थामा विमति र दुवै निकायको सञ्चालक समितिका अध्यक्षहरुको बदनियतपूर्ण कार्यको विरोध गर्दै यी दुवै निकायका कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।
आन्दोलनमा क्रममा सेबोन र नेप्से दुवै निकायमा कार्यरत कर्मचारीहरुले आइतबार कार्यालय समयमा कार्यलय परिसरमा नै नेतृत्वप्रति आक्रोश व्यक्त गर्दै नाराबाजी र व्यानरसहित धर्ना दिएका छन् । सो क्रममा नेप्सेका कर्मचारीहरुले आइतबार कार्यालय परिसरमै ब्यानरसहित उत्रिएर विरोध प्रदर्शन गरेका हुन् । कर्मचारीहरु असक्षम झोले अध्यक्ष हेमन्त बस्याल राजीनामा दे, ‘अक्षम सीईओ’ चुढामणि चापागाईं राजीनामा दे भन्दै नाराबाजीमा उत्रिएका छन् ।
कर्मचारीको बोनसका सम्बन्धमा भएको व्यवस्थामा विमति जनाउँदै नेप्सेका कर्मचारीहरु असोज सात गतेदेखि नै आन्दोलनमा उत्रिएका हुन् । श्रम अदालतले नेप्सेको वार्षिक नाफाबाट कर्मचारीलाई पाँच प्रतिशत बोनस छुट्याउने व्यवस्थालाई कार्यान्वयन गर्न भने पनि व्यवस्थापनले अटेर गरेको भन्दै कर्मचारीले आन्दोलन सुरु गरेका थिए । ‘श्रम अदालतले फैसला गरिसक्दा पनि व्यवस्थापनले कार्यान्वयन गर्नुको साटो झुलाउने उद्देश्यले सर्वोच्चमा रिट हालेकाले व्यवस्थापनको नियतविरुद्ध कर्मचारीहरुले आन्दोलन गरेको कर्मचारीहरुको भनाइ छ ।
व्यवस्थापन समूहले असोज २८ गते श्रमको फैसलाविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएको छ । व्यवस्थापन पक्ष सर्वोच्चबाटै विवाद टुङ्गो लगाउने पक्षमा छ । दुवै पक्षको बहसका लागि कात्तिक २३ गते बोलाइएको छ ।
यसैबीच, धितोपत्र बजारको नियमनकारी दुवै निकाय आन्दोलनमा होमिएपछि सेयरबजारमा भने निरन्तर पहिरो गएको छ । चाडपर्वपछि पहिलो दिन आइतबार खुलेको सेयरबजारमा पनि निकै ठूलो पहिरो गएको छ । सरकारले पुँजीबजार सुधारका लागि प्रयास सुुरु गरेको भए पनि यसको सकारात्मक असर धितोपत्र बजार र लगानीकर्ताहरु दुवैमा पर्न सकेको छैन । सोही कारण पछिल्लो समय लगातार सेयरबजार ओरालो लाग्दै २५ सय विन्दुबाट पनि तल झरिसकेको छ ।