काठमाडौं । पाँच तारे होटल तारागाउँ रिजेन्सी होटल्स (हायात रिजेन्सी काठमाडौं)ले जेन–जी आन्दोलनका क्रममा होटलमा ठूलो क्षति भएको उल्लेख गर्दै पुनः निर्माणपछि यथाशीघ्र सञ्चालनमा आउने बताएको छ ।
होटलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठले आइतबार विज्ञप्ति जारी गरी होटलको स्तरोन्नति र पुनः निर्माणका लागि कम्तीमा एक वर्ष लाग्ने जनाएका छन् । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा होटलमा भएको क्षतिको मूल्याङ्कन भइरहेको र पुनः निर्माणपछि सञ्चालनमा ल्याउने विज्ञप्तिमा उल्लेख छ । पर्यटन क्षेत्रमा नेपालको मान–प्रतिष्ठा अझ उच्च बनाउने दृढ संकल्पसहित सञ्चालन हुने जनाइएको छ । ‘आन्दोलनका क्रममा होटलमा भएको तोडफोड, लुटपाट तथा आगलागीजन्य क्रियाकलापबाट होटलका अतिथि कक्ष, कार्यकक्ष, रिसेप्सन, लबी, रेस्टुरेन्ट, बैंक्वेट, चैत्यसहित होटलको समष्टिगत संरचनामा ठूलो क्षति पुगेको छ, त्यसयता होटल पूर्णरुपमा बन्द छ’, होटलले भनेको छ, ‘हाल क्षतिको पूर्ण मूल्याड्ढनपछि होटल स्तरोन्नति र पुनः निर्माण गरी अझ विस्तारित र उत्कृष्ट सेवासहित यथाशीघ्र पुनः सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौँ ।’
होटलले आगामी दिनमा सरकारको राजस्व स्रोतमा वृद्धि गरी मुलुकको आर्थिक विकासमा थप योगदान पुर्याउने र नेपालको फ्ल्यागसिप होटलको अभिभारा बोक्दै पर्यटन क्षेत्रमा नेपालको मान–प्रतिष्ठा अझ उच्च बनाउने दृढ संकल्पसहित सञ्चालन हुने प्रतिबद्धता समेत जनाएको छ । ‘होटल पछिल्ला साढे दुई दशकमा नेपालमा भएका विभिन्न राजनीतिक तथा सामाजिक परिवर्तनको साक्षी रहँदै आएको छ । यस अवधिमा हामीले चरम सशस्त्र द्वन्द्व, शान्ति प्रक्रिया, संविधान निर्माण, भूकम्प तथा कोरोना महामारीजस्ता चुनौतीपूर्ण अवस्थाहरूको सामना गर्दै वर्षौँदेखि हजारौँ व्यक्तिलाई रोजगारी दिँदै मुलुकको पर्यटन र अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका छौँ’, होटलले भनेको छ ।
होटल पर्यटनमार्फत मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै पटक–पटक सरकारबाट सम्मानित भइसकेको छ । होटल हालसम्म पर्यटन क्षेत्रमा सबैभन्दा बढी आयकर तिर्ने करदाताको रुपमा सातपटक र पर्यटन क्षेत्रमा सबैभन्दा धेरै विदेशी मुद्रा संकलन गर्ने होटलका रुपमा दुईपटक सम्मानित भइसकेको छ । होटलमा भएको क्षतिका सम्बन्धमा प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सरकारबाट आवश्यक साथ सहयोग प्रदान गर्न दिएको आश्वासनप्रति होटलले आभार व्यक्त गरेको छ ।