काठमाडौं । लुम्बिनी लायन्स र भैरहवास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानबीच दीर्घकालीन साझेदारी सम्झौता भएको छ । सम्झौतापत्रमा एक्स्ट्राटेक ओभलका तर्फबाट विनोद कुँवर र लुम्बिनी लायन्सका तर्फबाट अध्यक्ष ईश्वर जिसीले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार एक्स्ट्राटेक ओभल अब लुम्बिनी लायन्सको आधिकारिक घरेलु मैदान तथा तयारी केन्द्र हुनेछ । यो साझेदारी पश्चिम नेपालमा विश्वस्तरीय क्रिकेट पूर्वाधार विकास गर्ने साझा दृष्टिकोणमा आधारित छ । यसअन्तर्गत लुम्बिनी लायन्सले एक्स्ट्राटेक ओभलमा प्रशिक्षण, अभ्यास खेल, कोचिङ क्याम्प तथा रणनीतिक बैठकहरू सञ्चालन गर्नेछ । साथै, आगामी वर्षहरूमा एनपीएलका लागि पनि तयारी हुनेछ तथा अन्य राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका क्रिकेट प्रतियोगिताका घरेलु खेलहरू पनि यही मैदानमा आयोजना गरिनेछ । सम्झौताका माध्यमबाट नेपालको खेल पूर्वाधार विकासमा एउटा ऐतिहासिक कदम चालिएको जनाइएको छ ।
लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले एक्स्ट्राटेक ओभल मैदान मात्र नभएर लुम्बिनी लायन्सको घर भएको बताए । ‘यो स्थान हाम्रो तयारी र यात्राको जग बन्नेछ । एक्स्ट्रा ओभर टिमलाई विशेष धन्यवाद, उहाँहरूले निजी लगानीमा यति ठूलो काम गरी रहनुभएको छ यसमा हाम्रो तर्फबाट उहाँहरूलाई हौसला प्रदान गर्न साथै सहयात्री बन्न जोडिएका छौँ’, उनले भने । यसले लुम्बिनीको मात्र नभई समग्र नेपाली क्रिकेट विकासमा ठूलो योगदान दिने उनको भनाइ छ । त्यस्तै, एक्स्ट्राटेक ओभलका प्रतिनिधि विनोद कुँवरले नेपालमा विश्वस्तरीय क्रिकेट सुविधा विकास गर्ने दिशामा यो साझेदारीले अझ दृढ बनाउने बताए । लुम्बिनी प्रदेशको क्रिकेट विकासमा यो सम्झौताले दूरगामी सकारात्मक सन्देश प्रवाह गर्ने उनको भनाइ छ ।
सम्झौताअनुसार एक्स्ट्राटेक ओभलमा मुख्य ओभल, अभ्यास नेट, पिच, फ्लडलाइट, ग्राउन्ड मर्मत उपकरण तथा क्लब हाउस सुविधा उपलब्ध गराइनेछ । यसले लुम्बिनी लायन्सलाई वर्षभरि व्यावसायिकस्तरको प्रशिक्षण र तयारीको वातावरण प्रदान गर्ने बताइएको छ । यो सम्झौता लुम्बिनी प्रदेशमा क्रिकेटको दीर्घकालीन विकास र खेलाडी उत्पादनमा नयाँ सम्भावनाहरू सिर्जना गर्ने महत्वपूर्ण योजनाका रूपमा रहनेछ ।