काठमाडौं । सरकारले घरजग्गा कारोबारबाट चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा नौ अर्ब १७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । साउन, भदौ र असोजमा उक्त परिमाणमा राजस्व संकलन भएको हो ।
भूमि व्यवस्थापन तथा अभिलेखका अनुसार यो अवधिमा दुई लाख ८५ हजार बढी घरजग्गा कारोबार भएको छ । यद्यपि, पछिल्लो समय घरजग्गा कारोबार घटेको तथ्यांकले देखाएको छ । साउन र भदौमा तीन अर्ब बढी राजस्व संकलन भएकामा असोजमा घटेको छ । भदौमा भएको जेनजी आन्दोलनको प्रभाव समेत घरजग्गा व्यवसायमा परेको व्यवसायीहरु बताउँछन् ।
साउनमा तीन अर्ब २८ करोड र भदौमा तीन अर्ब १४ करोड रुपैयाँ राजस्व संकलन भए पनि कारोबार घट्दा असोजमा दुई अर्ब ७५ करोड मात्रै उठेको छ । चालू आवको पहिलो महिनामा एक लाख चार हजार दुई सय १८, भदौमा एक लाख दुई हजार ७१ र असोजमा ७९ हजार सात सय ३६ वटा मात्रै घरजग्गा कारोबार भएको विभागको भनाइ छ ।
घरजग्गा व्यवसायी महासंघका अनुसार देशका पाँच सय बढी पालिकाहरुमा जग्गा कित्ताकाट नहुँदा कारोबार सुस्ताएको हो । यसबाहेक भदौमा जेन–जी आन्दोलनले पनि व्यवसायलाई प्रभाव पारेको छ । जग्गा वर्गीकरण नभएसम्म कित्ताकाट गर्न नपाइने व्यवस्था गरेका कारण अधिकांश पालिकामा कित्ताकाट हुन सकेको छैन । हालसम्म दुई सय ५३ पालिकामा मात्रै जग्गा वर्गीकरण भएको महासंघले जनाएको छ ।
पछिल्लो समय सरकारले तीन करोडभन्दामाथिको घरजग्गा कारोबारलाई व्यवस्थित गर्न कम्पनी दर्ता गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ ।