काठमाडौं । नेपाल प्रहरीको लागुऔषध ब्युरो कोटेश्वरमा कार्यरत हवल्दार महेश सिंह ऐरीले नक्कली सुनको कारोबार गर्ने गरेको पाइएको छ । ऐरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुई केजी सुन गायब पार्नुका साथै आपराधिक कार्यमा समेत संलग्न भएकाले अनुसन्धान गर्न मागसहित उजुरी परेको थियो ।
यसबारे गत असोज २८ गते आर्थिक दैनिकले समाचार प्रकाशित गरेसँगै उनका अन्य कारोबारहरु खुल्न थालेका छन् । आर्थिक दैनिकमा समाचार प्रकाशित भएसँगै आफ्ना पुराना साथीहरुलाई धम्क्याउनुका साथै श्रीमतीको फेसबुकबाट घर–पसललगाएतको फोटोहरु समेत हटाएका थिए । ऐरीले बागबजारको हिमशिखर गेस्ट हाउसमा बसेर सुनको कारोबार गर्ने गरेको स्रोतको दाबी छ ।
स्रोतका अनुसार हवल्दार ऐरीले दोलखाको लामाबगरमा सुनजस्तो देखिने नक्कली धातु साथीमार्फत बेचेर आएको पैसा आधा लिएपछि पोल खुल्ने डरले आफैँले छापा मारेर जफत गरेका थिए । बागबजारमा बसेर हवल्दार ऐरीले लुकाएर राखेका सुन तराईमा बस्नेहरुलाई बजारमा चलेभन्दा आधा मूल्यमा बिक्री गर्न सुराकी लगाउने गरेको स्रोतले दाबी गरेको छ ।
स्रोतका अनुसार हवल्दार ऐरीले प्रहरीका भूपू जवान साथी डेनी लामामार्फत विभिन्न आपराधिक कार्यहरु गर्ने गरेको र लामाले समेत बौद्धमा चारतले घर बनाउनुको साथै लामो दूरीमा चल्ने बस समेत किनिसकेका छन् । हवल्दार ऐरीविरुद्ध विभिन्न समयमा पटक–पटक अख्तियारमा उजुरी परे पनि छानबिन नहुनु र ऐरीले अख्तियारमा समेत आफ्नो मान्छे भएको र कसैले केही गर्न नसक्ने बताउनुमा आयोगमा जुनियर अफिसरमा काम गर्ने एक साथी रहेको स्रोतले दाबी गरेको छ ।
आयोगमा कार्यरत जुनियर अफिसरको समेत पश्चिम चल्ने तीनवटा नाइट बस र दुईवटा पेट्रोल पम्प रहेको छ । यसअघि हल्दार ऐरी सम्मिलित सीआईबी टोलीले २०६९ पुस २४ गते काठमाडौं महानगरपालिका वडा नं. ३० महाबौद्धमा रहेको तत्कालीन कैलाश बैंकको मुनि बा १० च २०६८ नम्बरको टाटा पिकअप भ्यान र बा ५३ प १७७७ नम्बरको अपाचे मोटरसाइकल चेकजाँचको क्रममा सिन्धुपाल्चोकको इचो ५ घर भई हाल काठमाडौं महानगरपालिका ६ चुच्चेपाटी बस्ने ३७ वर्षका दीर्घबहादुर थापा र धादिङ गजुरी ४ घर भई हाल काठमाडौंको नयाँबजार बस्ने २१ वर्षका समिर बराकोटीलाइ पाँच केजी सुनसहित समाएकोमा दुई केजी सुन लुकाएर घर हिँडेको भन्दै अख्तियारमा उजुरी परेको समाचार विषयमा आर्थिक दैनिकमा प्रकाशित भएको थियो ।
त्यस्तै, नेपालमा चिनियाँहरुको ठूलो तस्करीको समूह एकैपटक समाउँदा करिब ४५ हजार डलर, ३५ हजार घोर्मा (चाइनिज पैसा) र विभिन्न कम्पनीका २४ हजार थान रिचार्ज कार्ड र तीनवटा आइफोन समेत उनले लुकाएको र त्यसमा प्रहरीले उनीमाथि अनुसन्धान नै नगरेको विषयमा समेत आर्थिक दैनिकले समाचार प्रकाशित गरेको थियो ।
बैतडीको साधारण परिवारका हवल्दार ऐरीको हाल कञ्चनपुरमा आधुनिक पक्की घर, काठमाडौंको धनेश्वरमा आधुनिक पक्की घर, गोंगबुमा श्रीमतीको करोडको फेन्सी पसल रहेको र उनको अकुत सम्पत्तिको स्रोतको विषयमा आयोगमा पटक–पटक उजुरी परिसक्दा समेत अनुसन्धान नहुनु रहस्यमय छ ।
हवल्दार ऐरीले गर्ने नक्कली सुनको कारोबारदेखि अकुत सम्पत्तिको विषयमा हवल्दार ऐरीसँग जिज्ञासा राख्दा भोलि भेटेर सबै बताउने भन्दै एक दिनलाई समाचार रोकिदिन आग्रह गरे । तर आर्थिक दैनिकको जिज्ञासाबारे केही बोल्न चाहेनन् ।