काठमाडौं । बैंकिङ क्षेत्रमा कुल निक्षेप र कर्जाखाताबीच निकै ठूलो अन्तर देखिएको छ । कुल निक्षेप खाता संख्या छ करोड नाघ्दा कुल कर्जा खाता संख्या झण्डै २० लाख मात्र छ । नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनले निक्षेप र कर्जा खातामा ठूलो अन्तर देखाएको हो ।
चालू आवको भदौ मसान्तसम्म लघुवित्त र पूर्वाधार बैंकबाहेक सञ्चालनमा रहेका वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तरका विकास बैंक र फाइनान्ससहित कुल ५४ वटा संस्थाहरुमा छ करोड चार लाख ५३ हजार पाँच सय ९३ वटा निक्षेप खाताहरु सञ्चालनमा छन् । गत आवको सोही अवधिमा पाँच करोड ६७ लाख २६ हजार छ सय २८ वटा निक्षेप खाता थियो । राष्ट्र बैंकका अनुसार कुल निक्षेप खातामध्ये वाणिज्य बैंकहरुमा मात्र पाँच करोड १८ लाख ५६ हजार दुई सय ५२ वटा खाताहरु सञ्चालनमा छन् भने विकास बैंकहरुमा ७५ लाख ७८ हजार ६० वटा खाताहरु रहेका छन् । यस अवधिमा फाइनान्सहरुमा १० लाख १९ हजार दुई सय ८१ वटा निक्षेप खाता छन् । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरुमा चार करोड ८६ लाख आठ हजार एक सय ८१, विकास बैंकहरुमा ७१ लाख ९५ हजार सात सय ६५ र फाइनान्स कम्पनीहरुमा नौ लाख २२ हजार छ सय ८२ वटा निक्षेप खाताहरु सञ्चालनमा थिए ।
निक्षेपको तुलनामा कर्जा खाता भने निकै कम देखिएको छ । चालू आवको भदौ मसान्तसम्ममा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुमा मात्र कुल १९ लाख ९३ हजार दुई सय ३४ वटा कर्जा खाता सञ्चालनमा रहेको देखिएको छ । गत आवको सोही अवधिमा यस्तो खाता संख्या १९ लाख नौ हजार एक सय ९९ थियो । चालू आवको भदौ मसान्तसम्ममा वाणिज्य बैंकहरुमा मात्र कुल १६ लाख ६२ हजार तीन सय ६२ वटा कर्जा खाताहरु सञ्चालनमा छन् । त्यसैगरी विकास बैंकहरुमा दुई लाख ६७ हजार तीन सय तीनवटा र फाइनान्स कम्पनीहरुमा ६३ हजार पाँच सय ८९ वटा कर्जा खाताहरु सञ्चालनमा रहेका छन् । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरुमा १५ लाख ८३ हजार छ सय ६९, विकास बैंकहरुमा दुई लाख ८२ हजार छ, फाइनान्स कम्पनीहरुमा ४३ हजार पाँच सय २४ वटा कर्जा खाता सञ्चालनमा थिए ।