कम्प्युटर मानव जीवनको अभिन्न अङ्ग बन्दै गएको छ । दैनिक जीवन होस् वा विभिन्न पेसागत जीवनलाई सहज र सक्रिय बनाउन कम्प्युटरको अपरिहार्यतालाई नकार्न सकिन्न । सूचना र प्रविधिको तीव्र विकास र वृद्धिको कारणबाट विश्व एक गाउँजस्तै भएको छ । नवीन सूचना र प्रविधिबाट आफूलाई सुसज्जित गर्न नसके कुनै पनि व्यक्तिले सहज जीवनयापन गर्न सक्दैन । साधानस्रोतमा सहज पहुँच र प्रयोगका लागि कम्प्युटर शिक्षा आधारभूत सर्त हो । शिक्षण संस्थाले परम्परागत किताबी ज्ञानको सट्टा नवीन ज्ञान र सीपबाट सुसज्जित गर्न सूचना र प्रविधियुक्त शिक्षामा विशेष ध्यान दिन हिच्किचाउनु हुन्न । अन्यथा विद्यालयले बेरोजगार उत्पादन गर्ने कारखानाको उपमा व्यहोर्नुपर्ने हुन्छ ।
वर्तमानमा विभिन्न व्यवसायहरूले मोबाइल, इन्टरनेट, ट्याबलेट्स, कम्प्युटरको माध्यमबाट द्रुत गतिमा प्रतिस्पर्धा गरिरहेका छन् । अहिलेको बदलिँदो परिवेशमा ‘पेपरलेस इ–गभरनेन्स’ समयको माग हो । सूचना र प्रविधिको विकासको बहुआयमिक प्रभाव सबै क्षेत्रमा परेको छ । विश्व श्रमबजारमा खरो प्रतिस्पर्धी सक्षम नागरिक उत्पादन गर्ने खालको शिक्षा आजको आवश्यकता हो । प्रविधिको प्रयोगबाट सेवामा सहज पहुँच, गुणस्तरमा बढोत्तरी, व्यवसायमा अभिवृद्धि हुन्छ । कम्प्युटरको प्रयोगबाट सूचना संकलन गर्ने, प्रशोधन गर्ने, प्रयोग गर्ने, सञ्चार गर्ने र सुरक्षित सञ्चय गर्नेजस्ता महत्वपूर्ण कामहरू छिटो छरितो रुपमा सम्पन्न गर्न सहज हुन्छ । टेलिकम्प्युटिङ, सोसियल मिडिया र इ–एक्टिभिटी जस्तैः इ–गभर्नेन्स, इ–हेल्थ, इ–लर्निङ, इ–सपिङ, इ–पेमेन्ट तथा इ–विडिङ जस्ता कामहरू लोकप्रियरुपमा विस्तार हुंदै गएका छन् । आजको एकाइसौँ शताब्दीमा विश्व श्रमबजारमा खरो प्रतिस्पर्धा गर्ने सचेत र सशक्त नागरिक उत्पादन गर्न सूचना र प्रविधिमा आधारित कम्प्युटर शिक्षा प्रदान गर्न नीति तथा रणनीति अवलम्बनमा विलम्ब गर्नु हुँदैन । समयको मागअनुसार सूचना प्रविधिबाट सुसज्जित दक्ष जनशक्ति उत्पादन गर्न शिक्षण संस्थाहरू सक्षम र समर्पित हुनुको विकल्प छैन ।
कम्प्युटर शिक्षा आधुनिक शिक्षाको मेरुदण्ड हो । जेन–जी आन्दोलनपश्चात् बनेको सरकारका शिक्षा मन्त्रीको विशेष चासोको कारण विद्यालयमा कम्प्युटर शिक्षालाई अनिवार्य बनाउने चर्चा चुलिएको छ । पाठ्यक्रम विकास केन्द्रले ऐच्छिक विषयको रुपमा रहेको कम्प्युटर शिक्षा अनिवार्य बनाउन विभिन्न विकल्प खोजी गर्न लागेको सञ्चार माध्यमबाट सार्वजनिक हुन थालेका छन् । विद्यालयमा कम्प्युटर शिक्षाले शैक्षिक गुणस्तरमा सुधार, विश्वव्यापी ज्ञानमा पहुँच, भविष्यको रोजगारीका लागि तयारीमा सहजता, सञ्चार र सहकार्यमा सहजता तथा प्रशासनिक र शैक्षिक दक्षतामा वृद्धि हुन्छ । विद्यालयमा कम्प्युटर शिक्षाको महत्वको महसुस हुन थालेको छ ।
सूचना तथा सञ्चार प्रविधिको प्रयोगबाट विद्यालय शिक्षाको गुणस्तर सुधार गरी सहरी तथा ग्रामीण, सुगम तथा दुर्गम र निजी तथा सामुदायिक विद्यालयहरूबीच देखिएका शैक्षिक गुणस्तरको दूरी घटाउन सकिन्छ । सूचना र प्रविधियुक्त विद्यालयहरूमा अध्ययन गर्ने विद्यार्थीहरूको सिकाइको दायरा फराकिलो हुन्छ । यसबाट विश्व ज्ञान भण्डारमा सहज र सटिक पहुँचको सुनिश्चित हुन्छ । अनलाइनमा आधारित सिकाइ सुविधाबाट विद्यार्थीले फुर्सदको समयमा पनि घरमै बसेर धेरै कुरा सिक्न सक्छन् । शिक्षकले आफ्नो शिक्षण विषय र कलालाई परिष्कृत गरी रोचक ढंगले प्रस्तुत गर्ने क्षमताको विकास इन्टरनेट मार्फत गर्न सक्छन् । विद्यालयमा सूचना र प्रविधिको व्यवस्थितरुपमा सञ्चालनका लागि आवश्यक पूर्वाधारको रुपमा कम्प्युटरको उपलब्धता, साधानस्रोत सम्पन्न कम्प्युटर कक्षा, इन्टरनेट तथा बिजुली सुविधाको साथसाथै कम्प्युटर शिक्षामा विशेष दखल भएका शिक्षकको व्यवस्था आधारभूत सर्तहरू हुन् ।
नेपालमा डिजिटल प्रविधिमा आधारित पठनपाठनलाई प्रोत्साहित गर्न राष्ट्रिय पाठ्यक्रम प्रारुप २०६३, प्रतिविद्यार्थी एक ल्यापटप अवधारणा २०६५, विद्यालय शिक्षामा सूचना तथा सञ्चार प्रविधिको प्रयोगसम्बन्धी निर्देशिका २०६९ मार्फत कार्यक्रमहरू सञ्चालन हुँदै गएका छन् । सूचना तथा सञ्चार प्रविधिको गुरुयोजना सन २०१३—२०१७ अनुसार सबै विद्यालय, स्रोतकेन्द्रहरूमा सूचना प्रविधिको पहुँच सुनिश्चित गर्ने लक्ष्य देखिन्छ । नेपाल सरकारको सूचना र प्रविधि नीति २०६७ ले परिकल्पना गरेको कानुनको शासन, भ्रष्टाचारमुक्त चुस्त पारदर्शी प्रशासन, विकेन्द्रीकरण आर्थिक अनुशासनलाई साकार पार्न दक्ष जनशक्तिको आवश्यकता पर्दछ ।
राज्यले विद्यालय शिक्षामा सूचना तथा सञ्चार प्रविधिको सुनिश्चितताको लागि कम्प्युटर शिक्षालाई प्रोत्साहित गर्न विभिन्न कार्यक्रमहरू ल्याएको थियो । शिक्षालाई मौलिक हकको रुपमा स्थापित गरेको परिप्रेक्ष्यमा सूचना र प्रविधिमा सहज पहुँच पुर्याउन विद्यालयहरूलाई इन्टरनेट सञ्जालमा जोड्न कम्प्युटर वितरण तथा इन्टरनेट सुविधाका साझेदारी कार्यक्रम लागू गरिएको थियो । विगत वर्षहरूबाट सरकारले सामुदायिक माध्यमिक तथा निम्न माध्यमिक विद्यालयका लागि साझेदारी कार्यक्रमअन्तर्गत एक लाख ४० हजार अनुदान दिने र ६० हजार विद्यालयले बेहोरी पाँचवटा कम्प्युटर सेट, प्रिन्टर इन्टरनेटको व्यवस्था समेत गर्नुपर्ने नीति अवलम्बन गरेको थियो । यसरी प्राप्त गरेका कम्प्युटरको दक्षतापूर्वक प्रयोग गर्ने शिक्षकको व्यवस्था विद्यालय स्वयंले गर्नुपर्ने प्रावधान छ । तर कतिपय विद्यालयहरूले यसरी प्राप्त रकमबाट नयाँ कम्प्युटर नकिनेर आफूसँग भएको पुरानै कम्प्युटर देखाउने र सो रकम शिक्षक तलब भत्तालगायत अन्य क्षेत्रमा खर्च गरेको पाइन्छ । शिक्षक, बिजुली, इन्टरनेटको सुविधा तथा मराम्मतका लागि नभएको कारणबाट प्रयोगविहीन अवस्थामा कम्प्युटर थन्किरहेका पनि देखिन्छ । अतः पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षक निर्देशिकालगायत शिक्षाका नीतिनियम निर्देशन तत्काल सम्बन्धित विद्यालयमा पु¥याउने विकल्पको रुपमा पनि इन्टरनेट सुविधाको सुनिश्चित गर्न राज्यको तर्फबाट कञ्जुस्याइँ गरिनु हुँदैन । प्रत्येक शिक्षकलाई कम्पयुटर सम्बन्धी आधारभूत ज्ञान र सीप प्रदान गर्ने खालको तालिमलाई अनिवार्य तथा स्रोतसािधनको यथोचित व्यवस्था गरिनु विद्यालयमा कम्प्युटर शिक्षाको लागि अपरिहार्य सर्त हो ।
विद्यालयले आफ्ना विद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रविधिको राम्रो ज्ञान दिन पाठ्यक्रम पाठ्यपुस्तकमा भएको विषयवस्तुको अतिरिक्त ताजा घटना र सूचनाको जानकारी दिने व्यवस्था गरिनुपर्छ । रोचक र ताजा शिक्षण सिकाइका लागि कतिपय विद्यालयहरूले इ लर्निङ, डिजिटल लर्निङको सुरुवात गरिसकेका छन् । सामुदायिक विद्यालयको तुलनामा निजीस्तरमा सञ्चालित संस्थागत विद्यालयहरू कम्प्युटर शिक्षामा अघि देखिन्छन् । जसको कारणबाट ती विद्यालयहरूमा विद्यार्थीको संख्यात्मक तथा गुणात्मक अवस्था सुदृढ भएको देखिन्छ ।
विद्यालयहरूमा कम्प्युटरका लागि पर्याप्त सहयोगको खाँचो खड्किएको देखिन्छ । जसको लागि अन्य सरकारी, गैरसरकारी संस्थाहरूको सहकार्यमा सहयोग जुटाउन सकिन्छ । त्यस्तै शिक्षकहरूको क्षमता विकासको लागि तालिमको विशेष कार्यक्रम सञ्चालन, शिक्षा कार्यालय, स्रोतकेन्द्र तथा विद्यालयमा गरिने सूचनाको आदानप्रदान इमेलमार्फत गर्ने बानीको विकास गर्न प्रोत्साहित हुने नीति अवलम्बन, मौजुदा शिक्षक तालिमको विषयवस्तुमा कम्प्युटर शिक्षालाई समेट्नका साथै निरन्तर अनुगमन निरीक्षणले कम्प्युटर सुविधा उपल्ब्ध गराइएका विद्यालयमा प्रयोगको अवस्था थाहा पाउन र सुव्यवस्थित गर्न योगदान पुर्याउँछ । बेलाबखत हुने कम्प्युटरलगायत सूचना र प्रविधिसम्बन्धी प्रदर्शनीमा विद्यार्थीहरूलाई अवलोकन अध्ययन गर्ने गराउने अवसरले पछिल्लो आविष्कारबारे जानकारी दिन सकिन्छ । सूचना र प्रविधिमा द्रूत गतिमा विकास र वृद्धि भइराखेको आजको एकाइसौँ शताब्दीमा तदअनुकूलको शिक्षा प्रदान गर्ने राज्यको नीति तथा रणनीतिले प्राथमिकता दिनु पर्दछ । (शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय पूर्वउपसचिव हुन् ।)