दोलखा । जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेको जैंनालु र दोभान क्षेत्रबाट वार्षिक एक करोड ५० लाख रुपैयाँ बराबरको अलैँची निर्यात हुँदै आएको छ । यस वर्ष अलैँचीको मूल्यमा वृद्धि भएपछि यहाँका किसान उत्साहित भएका छन् ।
गत वर्ष प्रतिकेजी एक हजार नौ सय रुपैयाँमा बिक्री हुने गरेको अलैँचीको मूल्य यस वर्ष तीन सय रुपैयाँले बढेर प्रतिकेजी दुई हजार तीन सय रुपैयाँ पुगेको छ । हाल अलैँची घरबाट नै बिक्री भएको वैतेश्वर–३ मिर्गे जैनालुका किसान जितबहादुर तामाङले बताए । अलैँचीको मूल्य वृद्धि भए पनि उत्पादनमा भने यस वर्ष गिरावट आएको तामाङले बताए । वर्षेनि भएको मूल्य गिरावट, गत वर्ष भएको सुख्खा खडेरी तथा अन्य कारण खेती विस्तारमा किसानले ध्यान नदिँदा उत्पादनमा कमी भएको हो । तर यस वर्ष उत्पादन घटे पनि मूल्यवृद्धि भएपछि किसानहरु उत्साहित छन् । सोही गाउँकी स्थानीय किसान देवीमाया तामाङले अलैँची बिक्री गरेर छ लाख रुपैयाँ आम्दानी गर्ने बताइन् ।
गत वर्ष उनले चार लाख रुपैयाँ बराबरको अलैँची बिक्री गरेकी थिइन् । तीन सय केजी अलैँची काठमाडौं निर्यात गर्ने तयारी गरेको पनि उनले जानकारी दिइन् । पछिल्ला वर्षहरुमा यहाँका किसानले आम्दानीको मुख्य आधार नै अलैँची खेती बनाउँदै आएका छन् । यहाँको मिर्गे, जैनालु र दोभानबाट वार्षिक एक करोड ६५ लाख बराबरको अलैँची काठमाडौं र तराई निर्यात गर्दै आएको स्थानीय अलैँची किसान विप्लव तामाङले बताए । सामान्य लगानी तथा मेहनतले अलैँचीबाट राम्रो आम्दानी हुने हुँदा अलैँचीको भाउ घटे पनि किसान मारमा नपर्ने उनले सुनाए । उनले यस वर्ष करिब दुुई सय केजी अलैँची उत्पादन गरेको बताए । गत वर्ष मिर्गेबाट एक करोड बराबरको अलैँची बिक्री गरेका थिए । जैनालु–दोभानका स्थानीय किसानहरु दिनेश तामाङ, लालकुमार तामाङ र मानबहादुर तामाङ गाउँमै सबैभन्दा बढी अलैँची बिक्री गर्ने किसान हुन् । हाल यहाँका किसानलाई बोटबाट अलैँची झिक्न, केलाउन र सुकाउन भ्याइनभ्याई छ । ठेकेदारले घरबाट नै अलैँची लैजाने गरेकाले पनि मिर्गेका किसानलाई अलैँची बिक्री गर्ने चटारो छ ।