काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेड तथा सुम्निमा हाइड्रोपावर कम्पनी लिमिटेड बिच सम्झौता भएको छ । सुम्निमा हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सेयर निष्काशन (आईपीओ)का लागि यी दुई कम्पनीहरूबीच सम्झौता भएको हो ।
सुम्निमा हाइड्रोपावर कम्पनीले जारी पुँजीको २० प्रतिशत साधारण सेयर सर्वसाधारणमा जारी गर्नका लागि माछापुच्छ्रे क्यापिटललाई संस्थागत परामर्श सेवाका साथै निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो । सम्झौता धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक संस्था माछापुच्छ्र्रे क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र निष्काशनकर्ता कम्पनी सुम्निमा हाइड्रोपावर कम्पनीको तर्फबाट अध्यक्ष आषिश सुवेदीले हस्ताक्षर गरेका छन् । सुम्निमा हाइड्रोपावरले भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका भएर बग्ने पिखुवा खोलाको पानीको बहाव सदुपयोग गरी ४.९ मे.वा. क्षमताको माथिल्लो पिखुवा जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, निष्काशन तथा बिक्री प्रबन्धक, सेयर रजिष्ट्रार तथा सामूहिक लगानी कोष सेवा प्रदान गर्दैै आइरहेको छ ।