काठमाडौं । चालू आर्थिक वर्षको असोज मसान्तसम्म पौने सात खर्ब रुपैयाँभन्दा बढी प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले साउन–असोज अवधिमा सात हजार पाँच सय ५० वटा उद्योग तथा परियोजनाका लागि छ खर्ब ८६ अर्ब ५५ करोड ९९ लाख रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको जनाएको हो ।
उक्त लगानी प्रतिबद्धता स्वचालित र प्रत्यक्ष सहभागिता मार्गबाट आएको हो । समीक्षा अवधिमा प्रत्यक्ष सहभागिता मार्गबाट छ खर्ब ७१ अर्ब ९६ करोड रुपैयाँ र स्वचालित मार्गबाट १४ अर्ब ५९ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । प्रत्यक्ष सहभागिता मार्गमार्फत् छ हजार सात सय ६३ वटा उद्योग र स्वचालित मार्गबाट सात सय ८८ वटा उद्योगका लागि उक्त लगानी प्रतिबद्धता आएको हो ।
उद्योग क्षेत्रमा आउने विदेशी लगानी प्रतिबद्धता स्वचालित मार्गभन्दा बढी व्यक्तिको प्रत्यक्ष सहभागिता मार्गबाट आउने बढी विश्वसनीय देखिएको छ । वार्षिकरुपमा अर्बौँ लगानी प्रतिबद्धता आउने गरेकोमध्ये बढी लगानी प्रतिबद्धता प्रत्यक्ष सहभागीमार्गबाट आउने रकम बढी देखिएको हो । विदेशी लगानीकर्ताले एफडीआईमार्फत् नौ प्रकारका उद्योगमा लगानी गर्न सक्छन् ।
नौ प्रकारका उद्योगहरुमा कृषि तथा वन पैदावरमा आधारित, ऊर्जामूलक, सूचना, प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, पूर्वाधार, खनिज, निर्माण सेवामूलक र पर्यटनमूलक रहेका छन् । सुुरुदेखि हालसम्म सबैभन्दा बढी लगानी प्रतिबद्धता जनाउने मुलुकहरुमा भने चीन, भारत, हङकङ, दक्षिण कोरिया, अमेरिका, बेलायत, ब्रिटिस भर्जिन टापुलगायतका मुलुकहरू रहेको विभागका अधिकारीहरु बताउँछन् ।
विभागका अनुसार चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा भने ३५ अर्ब १३ करोड ७७ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ । तीन सय ११ वटा उद्योगको लागि उक्त लगानी प्रतिबद्धता आएको हो । उक्त लगानी आउँदा ३३ हजार आठ सय १४ वटा रोजगारी सिर्जना हुने अनुमान गरिएको छ ।
लगानी प्रतिबद्धता आएका परियोजनामध्ये तीन सय साना, मध्यम चार र ठूला सातवटा उद्योग रहेको छ । तीन महिनाको अवधिमा सबैभन्दा बढी पर्यटनमूलक क्षेत्रका एक सयवटा उद्योगमा एक अर्ब ४६ करोड रुपैयाँ र सबैभन्दा कम सेवामूलक क्षेत्रका १९ उद्योगका लागि १८ करोड १० लाख रुपैयाँको लगानी प्रतिबद्धता आएको छ । सोही अवधिमा उत्पादनमूलक क्षेत्रका १५ उद्योगमा २१ करोड १० लाख रुपैयाँ, प्रविधिमूलक क्षेत्रका एक सय ६२ वटा उद्योगमा १५ करोड ३७ लाख ३२ हजार रुपैयाँ र कृषिमूलक क्षेत्रका ११ उद्योगमा चार करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।
आर्थिक वर्ष २०८१/८२ मा ६४ अर्ब ९६ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उक्त लगानी प्रत्यक्ष सहभागी मार्गबाट र स्वचालित मार्गबाट आएको हो । यसअघि आर्थिक वर्ष २०८०/८१ मा ६१ अर्ब ९० करोड ४५ लाख रुपैयाँ बराबर वैदेशिक लगानीका लागि आएको थियो ।
नेपालमा लगानी प्रतिबद्धता धेरै आउने र स्वीकृति रकम भने न्यून आउने गरेको पाइन्छ । प्रतिबद्धताको एकतिहाइ पनि विदेशी लगानी रकम आउँदैन । नेपाल राष्ट्र बैंकको एक सर्वेक्षणले प्रतिबद्धता जनाएको प्रत्यक्ष वैदेशिक लगानीको करिब ३१ दशमलव नौ प्रतिशत मात्रै वास्तविक लगानी आउने गरेको देखाएको छ, जसले गर्दा प्रतिबद्धता र स्वीकृत लगानीबीच ठूलो अन्तर रहेको छ ।
लगानीकर्ताहरुले उद्योग दर्ता तथा लगानी स्वीकृति भने उद्योग विभागबाट गर्छन् भने विभागका अलवा लगानी बोर्डमार्फत् समेत लगानी स्वीकृत गर्छन् । विदेशी लगानीकर्ताले विभागमार्फत भने न्यूनतम दुई करोड रुपैयाँदेखि छ अर्ब रुपैयाँसम्मको लगानी भित्र्याउन सक्नेछन् । छ अर्ब रुपैयाँभन्दा माथिका लगानी भने लगानी बोर्डमार्फत स्वीकृत गरिन्छ । विदेशी लगानीकर्तालाई प्रत्यक्ष विदेशी लगानी तथा हस्तान्तरण ऐन, २०७५ ले नेपालमा रहेको उद्योग क्षेत्रमा लगानी गर्ने अधिकार प्रदान गरेको छ ।
राष्ट्र बैंकअन्तर्गत प्रत्यक्ष विदेशी लगानी शाखाका अनुसार नेपालमा विदेशी लगानीका लागि न्यूनतम सीमाप्रति विदेशी लगानीकर्ता पाँच करोड रुपैयाँ तोकिएको छ भने अधिकतम सीमा तोकिएको छैन । ‘औद्योगिक व्यवसाय ऐन–०७५’ अनुसार १० करोड रुपैयाँसम्म स्थिर पुँजी भएको साना, १० करोड रुपैयाँदेखि २५ करोड रुपैयाँसम्मको स्थिर पुँजी भएको मझौला र २५ करोड रुपैयाँभन्दा बढी स्थिर पुँजी भएको ठूला विभागले दर्ता गर्छ । विदेशी लगानीकर्ताहरूले लगानी ल्याउने तथा लाभांश लैजानेको लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ ले सहजीकरण गरेको छ ।