काठमाडौं , व्यवसायी दुर्गा प्रसाईंले मङ्सिर ७ गतेदेखि सुरु हुने आफ्नो आन्दोलनबारे बुधबार राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसँग भेट गरी छलफल गरेका छन्।
छलफलका क्रममा प्रसाईंले आन्दोलनको तयारी, उद्देश्य र शान्तिपूर्ण ढङ्गले सञ्चालनका विषयमा आयोगलाई जानकारी गराएका छन्। उनले आन्दोलन जनताका हकहित र न्यायका पक्षमा केन्द्रित हुने दाबी गरेका छन्।
आयोगका अध्यक्ष मगरले आन्दोलनको अधिकार सबै नागरिकको मौलिक हक भए पनि त्यस क्रममा जनसुरक्षा, शान्ति र कानूनको पालना अनिवार्य रहेको भन्दै संयमता अपनाउन सुझाव दिएका छन्।
यसअघि प्रसाईंले मङ्सिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका थिए। उनले वर्तमान शासन प्रणाली, भ्रष्टाचार र विदेशी हस्तक्षेपविरुद्ध आम नागरिकको समर्थनमा आन्दोलन थालिने बताएका छन्।