काठमाडौं, सरकारले संघीय संसद्का पदाधिकारी र सदस्यहरूको स्वकीय सचिवालयमा रहेको दरबन्दी घटाउने निर्णय गरेको छ। बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए। उनका अनुसार, सरकारले “संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३” को अनुसूची–२ मा संशोधन गर्ने निर्णय गरेको हो। “मन्त्रिपरिषद् बैठकले संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को अनुसूची २ मा हेरफेर गर्ने निर्णय गरेको छ,” मन्त्री खरेलले भने, “स्वकीय सचिवालयको दरबन्दी घटाउने निर्णय भएको हो।” त्यससँगै, सरकारले राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी माघ ११ गते गर्ने निर्णय पनि गरेको छ।