काठमाडौं,सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको कतार औपचारिक भ्रमण स्वीकृत गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिका कतार भ्रमण प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए। उनका अनुसार, राष्ट्रपति पौडेलसहितको टोली कात्तिक १७ गतेदेखि २० गतेसम्म कतारको दोहा भ्रमणमा रहनेछ।मन्त्री खरेलका अनुसार, राष्ट्रपति पौडेलले “सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलपमेन्ट” विषयक कार्यक्रममा सहभागी हुन कतार जाँदै छन्। “कतारको दोहामा आयोजना हुने उक्त अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा हुने औपचारिक भ्रमण स्वीकृत गरिएको छ,” मन्त्री खरेलले मन्त्रिपरिषद् बैठकपछि जानकारी गराए। राष्ट्रपति पौडेलको यो भ्रमणले नेपाल–कतार सम्बन्ध थप सुदृढ हुने अपेक्षा गरिएको छ।