काठमाडौं , आगामी निर्वाचनको तयारीलाई ध्यानमा राख्दै सरकार, राजनीतिक दल र जेनजी पुस्ताबीच त्रिपक्षीय वार्ता सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार दिउँसोदेखि सुरु भएको छलफल जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
सचिवालयका अनुसार छलफलमा प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिल कुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन र सञ्चारमन्त्री जगदिश खरेल सहभागी छन्।
त्यस्तै, राजनीतिक दलका तर्फबाट १५ जना र जेनजीका तर्फबाट १३ जना प्रतिनिधि सहभागी छन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलका अनुसार, “निर्वाचनको माहोल बनाउनका लागि पहिलोपटक सरकार, राजनीतिक दल र जेनजी पुस्ताबीच संयुक्त बैठक आयोजना गरिएको हो।”
यसअघि ४ कात्तिकमा सरकार र राजनीतिक दलबीच मात्रै छलफल भएको थियो। प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बसेको त्यस बैठकले निर्धारित समयमा नै निर्वाचन सम्पन्न गर्ने प्रतिवद्धता जनाएका थिए।
लामो समयपछि भएको यस औपचारिक त्रिपक्षीय संवादले आगामी निर्वाचनको वातावरण तयार पार्न सकारात्मक संकेत दिएको सरकारको विश्वास छ।
बैठकमा सहभागी जेनजी प्रतिनिधिहरू:
मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउँद, उपअर्जुन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुंगाना, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डंगोल, अमीत खनाल र राजन रानामगर।
राजनीतिक दलका तर्फबाट सहभागी:
नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, माधव सापकोटा, प्रकाश अधिकारी, दीपक कार्की, प्रकाश ज्वाला, राजेन्द्र पाण्डे, मोहन श्रेष्ठ, राजेन्द्र गुरुङ, निशा डाँगी, स्वर्णिम वाग्ले, महेश बर्तौला, क्षितिज थेबे, वसन्त कुशवाह र प्रकाशशरण महत।