काठमाडौं , काठमाडौं महानगरपालिकाका प्रहरी बल प्रमुख राजुनाथ पाण्डेले आफ्नो निलम्बनविरुद्ध दायर गरेको रिट उच्च अदालत पाटनले खारेज गरेको छ। न्यायाधीश डालबहादुर खड्का र दीपक खनालको संयुक्त इजलासले बुधबार सुनुवाइ गर्दै पाण्डेको रिट खारेज गर्ने निर्णय सुनाएको हो।पाण्डे जेठ २० गते निलम्बनमा परेका थिए। निलम्बनविरुद्ध उनले प्रशासकीय अधिकृत सरोज गुरागाई, कार्यवाहक प्रहरी बल प्रमुख बिष्णु जोशी लगायतलाई विपक्षी बनाएर उच्च अदालतमा रिट दायर गरेका थिए। जेठ २६ गते दायर रिटमा उच्च अदालतले अन्तरिम आदेशमार्फत निलम्बन कार्यन्वयन नगर्न आदेश दिएको थियो। तर, छ महिने निलम्बन अवधि मंसिर २० गतेसम्म कायम रहेको छ, र रिट खारेजसँगै पाण्डेको निलम्बन अझै प्रभावकारी हुने देखिन्छ। पाण्डेले मेयर बालेन शाहको आदेशमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईलाई कार्यालय प्रवेशमा रोक लगाएका थिए। उपमेयर सुनिता डंगोलसहितका जनप्रतिनिधिले गुरागाईलाई हाजिर गराउने क्रममा धकेलाधकेल भएको घटनासमेत सार्वजनिक भएको थियो। प्रशासकीय प्रमुख गुरागाईले कानूनले दिएको अधिकार प्रयोग गरेर प्रारम्भमा स्पष्टिकरण माग गरेका थिए। पाण्डेको स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै उनी निलम्बित भएका थिए।