काठमाडौं । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्यारक्याल लामाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
आयोगमा परेको उजुरीमा उपाध्यक्ष डा. लामाले आईबीसी नामको संस्थालाई रामग्रामको चार बिगाहा जग्गा दिएकोमा पछि नियमविपरीत थप ८०/८० मिटर (लगभग ४ बिगाहा) जग्गाविना शुल्क दिएर सोबापत घुसस्वरुप दुई दर्जन भ्यान लिई काठमाडौं र आसपासको बिहारमा बाँडेको उजुरीमा उल्लेख छ ।
लामाले यसअघि समग्र लुम्बिनीको विकास भन्दै रामग्राम क्षेत्रको जग्गा पर्दा पछाडिका चिनिया नागरिकको लगानी रहेको प्रमिस ल्यान्ड नामको कम्पनीलाई ३० वर्षको लागि भाडामा दिएर सात करोड घुस लिए पनि जनस्तरबाट विरोध भएपछि २०८० माघ २८ गते सार्वजनिक लेखा समितिले समेत अनुसन्धान गरेर कारबाही गर्न आयोगलाई पत्राचार गरेको र हालसम्म पनि आयोगबाट कुनै प्रकारको अनुसन्धान नै नभएको भन्दै उजुरीमा सो समेत छानबिन गरेर कारबाही गर्न माग गरिएको छ ।
अख्तियारमा बुधबार दर्ता भएको दर्ता नं. सि–०२०४९५ रहेको उजुरीमा आयोगले लामाविरुद्धको अनुसन्धानमा ढिलाइ गरेको र यसअघि समेत हातहतियार खरखजना मुद्दामा पक्राउ परी थुनामा परेर जरिवाना तिरी छुटेको खराब चरित्रको व्यक्ति हुनाले हाल कायम रहेको पदमा बस्नै नमिल्ने उल्लेख छ ।
लामाविरुद्ध केही समयअघि मात्र प्रधानमन्त्ती तथा मन्त्री परिषद्को कार्यालयमा समेत उजुरी परेको थियो । सो उजुरीमा पनि हातहतियार मुद्दामा सजाय पाएर पनि दबाबका कारण छुटेका लामा लुम्बिनीजस्तो पवित्र ठाउँको उपाध्यक्ष पदमा रहिँरहँदा विश्वमा नै नराम्रो सन्देश जाने भन्दै तत्काल बर्खात गर्न माग गरिएको थियो ।