काठमाडौं ।नेकपा एमाले निकट अखिल नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष तथा एमाले केन्द्रीय सदस्य कमल गौतमको हृदयघातका कारण निधन भएको छ। भैरहवास्थित नेपाल विद्युत् प्राधिकरण कार्यालय अगाडि आयोजित विरोध प्रदर्शनका क्रममा उनी बेहोस भएर ढलेका थिए। बुटवल–भैरहवा औद्योगिक करिडोरमा रहेका उद्योगहरूको ट्रंकलाइन काटिएको विरोधमा आयोजित प्रदर्शनमा मजदुर तर्फबाट वक्ता रहेका गौतम अचानक मञ्चमै लडेपछि उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो। मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्‍याइएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालका अनुसार, प्रारम्भिक परीक्षणमै हृदयघातका कारण मृत्यु भएको पुष्टि भएको हो। ६५ वर्षीय गौतम बुटवल उपमहानगरपालिका–३, ज्योतिनगरका स्थायी बासिन्दा हुन्। २०५४ सालदेखि पार्टी र जिफन्टमा सक्रिय रहेका उनले लामो समयदेखि मजदुर अधिकारको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएका थिए। उनका श्रीमती र दुई छोराहरू रहेका छन्। नेपाल विद्युत् प्राधिकरणले ट्रंकलाइन दुरुपयोग भएको भन्दै बुटवल–भैरहवा कोरिडोरका १० उद्योगमा लाइन काटेपछि उद्योगी तथा मजदुर संगठनहरूले संयुक्तरूपमा आयोजना गरेको विरोध कार्यक्रममा गौतम सहभागी भएका थिए।