काठमाडौं । नेपाल नर्सिङ संघले सरकारीसरह पारिश्रमिक तथा सेवा सुविधा दिन माग गर्दै निजी अस्पताल तथा शिक्षण संस्थामा कार्यरत नर्सहरुले सुरु गरेको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ ।
संघले उक्त आन्दोलनमा ऐक्यबद्धता जनाउँदै बुधबार दुई घण्टा अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा ठप्प पारेको हो । संघको आह्वानमा देशभरका सरकारी तथा निजी अस्पताल तथा शिक्षण संस्थाहरुमा कार्यरत नर्सहरुले आआफ्ना संस्थाको प्रांगणमा भेला भएर बिहान १० बजेदेखि १२ बजेसम्म प्रदर्शन गरेका थिए । उनीहरुले सरकारी सरह पारिश्रमिक पाउनुपर्ने मागसहित नर्सिङ पेशाको हकहितका १५ बुँदे माग सरकारसमक्ष पेश गर्दै आन्दोलन थालेका हुन् । दक्ष नर्सिङ जनशक्तिलाई श्रमिकका रुपमा नभई दक्ष जनशक्तिका रुपमा स्वास्थ्य ऐन अन्तरगत ब्यवस्थापन गरिनु पर्ने, जोखिम भत्ता, अतिरिक्त सेवाबापत छुट्टै पारिश्रमिक, आवश्यकता र मापदण्डअनुसारको दरबन्दी, शैक्षिक योग्यता र कार्य अनुभवको आधारमा नियमित स्तरवृद्धि र बढुवा, सामुदायिक तथा निजी विद्यालयहरुमा नर्सको दरबन्दी सिर्जना, ज्यालादारीमा काम लगाउन नपाइने व्यवस्था कडाइका साथ लागू गर्नुपर्ने उनीहरुका माग छन् ।
सम्पूर्ण दरबन्दी स्थायी विज्ञापनमार्फत पदपूर्ती गर्नुपर्ने, नीति निर्माणमा समान सहभागिता र पहुँच हुनुपर्ने, योग्यताअनुसार विशिष्टीकृत सेवा प्रवाहको व्यवस्था गर्नुपर्ने, कार्यस्थलमा हुने जोखिम वा दुर्घटनाको उचित क्षतिपूर्ती दिइनुपर्नेलगायतका माग उनीहरुले प्रस्तुत गरेका छन् । यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नर्सिङ तथा स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सरकारी सरह नघट्ने गरी लागू गर्न आग्रह गरेको छ । नर्सहरूले भने सरकारले यसअघि समेत यस्तै आग्रह गरिसकेको भन्दै त्यसलाई निजी अस्पताल तथा शिक्षण संस्थाहरूले कार्यान्वयन नगरेकाले सबै जायज माग कार्यान्वयन नभएसम्म आन्दोलन नरोकिने बताएका छन् ।