काठमाडौँ । प्रतिकूल मौसमका कारण मौसममा आएको खराबीका साथै ‘इनरुट वेदर’ बिग्रिएकाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै उडान प्रभावित भएका छन् ।
प्रतिकूल मौसमका कारण बिहीबार आन्तरिकतर्फ केही उडान ‘डाइभर्ट’ हुनका साथै भरतपुर र तुम्लिङटार विमानस्थलको उडान बन्द गरिएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी गराएका छन् । पोखरा विमानस्थल आगमन बन्द छ भने ‘डिपार्चर’ मात्रै खुलेको छ । काठमाडौँका लागि विराटनगरबाट उडेको श्री एयरलाइन्सको विमान उतै डाइभर्ट भएको जनाउँदै उनले भैरहवाबाट काठमाडौँ उडेको सोही एयरलाइन्सको विमान भैरहवा डाइभर्ट भएको बताए ।
अहिले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भिजिबिलिटी दुई हजार ५०० मिटर रहेको प्रवक्ता शेर्पाले बताए । उनका अनुसार अन्तरराष्ट्रियतर्फ नेपाल एयरलाइन्सको विमान भारतको नयाँदिल्ली डाइभर्ट भएको छ । इण्डिगो एयरको विमान पनि नयाँदिल्ली डाइभर्ट गरिएको जनाउँदै उनले एयर इण्डियाको विमान लखनऊ डाइभर्ट भएको उल्लेख गरे । विमानस्थल कार्यालयले इनरुट वेदर खराबीले आन्तरिक उडानमा समस्या भएको जनाएको छ ।