काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले आफ्नो पदबाट राजीनामा दिएको जनाएको छ ।
एन्फा र अस्ट्रेलियाली प्रशिक्षक रसबीच गत फागुनमा एक वर्षका लागि सम्झौता भएको थियो । एन्फाका महासचिव किरण राईले करिब आठ महिनामै रसले राजीनामा दिएको जानकारी दिए । के कारणले राजीनामा दिए भन्ने विषयमा पछि जानकारी गराउने उनले बताए ।
रसको प्रशिक्षणमा खेलेको पहिलो खेलमा नेपालले सिङ्गापुरलाई हराएको थियो । आठ महिनमा रसको प्रशिक्षकमा नेपाली फुटबल टोलीले सात अन्तरराष्ट्रिय खेल खेलेको थियो । जसमा नेपालले एक खेलमा जित हासिल गर्दा दुई खेल बराबरी तथा चार खेलमा पराजित भएको थियो ।