काठमाडौं । नेपाल टेलिकमले विमानस्थलहरुमा सर्वसाधारण यात्रुलक्षित फ्रि वाईफाई सञ्चालनमा ल्याएको छ । टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत देशभर सञ्चालनमा रहेका अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलहरुमा फ्रि वाईफाई सञ्चालनमा ल्याएको हो ।
कम्पनीले मंगलबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुभारम्भ गरेको जनाएको छ । टेलिकमकी प्रबन्ध निर्देशक सविना मास्के र विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले प्रथम चरणमा विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनमा वाईफाई इन्टरनेट सेवाको शुभारम्भ गरेका थिए । उक्त फ्रि वाईफाई इन्टरनेट सेवाको कभरेज विमानस्थलको आगमन, प्रस्थान, भीआईपी लाउन्ज तथा प्रतिक्षास्थललगायतका क्षेत्रहरुमा रहेको छ । देशभर सञ्चालनमा रहेका तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल तथा ३४ वटा आन्तरिक विमानस्थलहरुमा सर्वसाधारण यात्रुलक्षित वाईफाई इन्टरनेट सेवा सञ्चालन गर्न नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच भएको सम्झौताबमोजिम सो कार्यक्रमको शुभारम्भ गरिएको हो ।