काठमाडौं । नेपाली बजारमा एआई प्लस स्मार्टफोनको आधिकारिक बिक्री–वितरण सुरु भएको छ । रियलमी मोबाइलका पूर्व सीईओ माधव सेठद्वारा स्थापित यो स्मार्टफोन ब्रान्ड भारतीय बजारमा छोटो समयमा नै लोकप्रिय बन्न सफल छ ।
भारतमा सफल भएपछि एआई प्लसले आफ्नो विस्तारको दायरा नेपालसम्म ल्याएको हो । एआई प्लसले नेपाली बजारका लागि सिजीलाई आफ्नो आधिकारिक वितरक नियुक्त गरेको छ । नेपाली उपभोक्तालाई इन्टेलिजेन्ट र भ्यालु–ड्रिभन स्मार्टफोन उपलब्ध गराउने साझा उद्देश्यका कारण यो सहकार्य सम्भव भएको बताइएको छ । एआई प्लसका संस्थापक माधव सेठका अनुसार एआई प्लसको जन्म स्मार्ट प्रविधिलाई सबैका लागि सहज र पहुँचयोग्य बनाउने सोचबाट भएको हो । त्यसैले, एआई प्लसका स्मार्टफोनहरू प्रविधि र डिजाइनका दृष्टिले अत्याधुनिक भए पनि मूल्यका हिसाबले अत्यन्त किफायती रहेको उनले बताए । त्यस्तै, सिजी मोबाइल्सका बिजनेस हेड विनय जोशीले सबै उपभोक्ताको हातमा इन्टेलिजेन्ट टेक्नोलोजी पुर्याउनु कम्पनीको उद्देश्य भएको बताए । बजारमा स्मार्टफोनका धेरै विकल्प भए पनि एआई प्लस भने पूर्ण रूपमा भ्यालु–ड्रिभन ब्रान्ड भएको उनको भनाइ छ ।
एआई प्लसले पहिलो चरणमा नेपाली बजारमा दुई मोडेलका चार भेरियन्ट सार्वजनिक गरेको छ । कम्पनीले एआई प्लस पल्स र एआई प्लस नोभा ल्याएको हो । यी मोडेलहरूमा ४ जीबी, ६ जीबी, र ८ जीबी र्याम भएका विकल्पहरू उपलब्ध छन् । एआई प्लसले नेपालमा हालकै अवस्थामा सबैभन्दा किफायती फाइभ जी स्मार्टफोनका रूपमा एआई प्लस नोभा फाईभ जी प्रस्तुत गरेको छ, यसको मूल्य १३ हजार नौ सय ९९ रुपैयाँ निर्धारण गरिएको छ । साथै, ४ जीबी र्याम र ६४ जीबी स्टोरेज भेरियन्टको एआई प्लस नोभा स्मार्टफोन नौ हजार रुपैयाँभन्दा कम मूल्यमा बजारमा उपलब्ध गराइएको छ । हाल एआई प्लस स्मार्टफोनहरू नेपालभरका मोबाइल र इलेक्ट्रोनिक्स पसलहरूमा उपलब्ध भइसकेको कम्पनीले जनाएको छ ।