सोल । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङबीच व्यापार सम्झौताका लागि प्रायः सबै विषयमा अन्तिम सहमति भएको राष्ट्रपति ट्रम्पले बुधबार जानकारी गराएका छन् ।
यो वर्षको एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) बैठकको आयोजक रहेको दक्षिणपूर्वी सहर ग्योङजुमा लीसँगको शिखर सम्मेलनपछि राष्ट्रपति ट्रम्पले यस्तो घोषणा गरेका हुन् ।
उनले भने, ‘वार्ता पूर्णरूपमा सफल भएको मान्नुपर्छ । हामी एक सम्झौताको तयारी अवस्थामा पुगेका छौँ ।’ दुई देशका राष्ट्रपतिद्वय ट्रम्प र लीबीचको शिखर सम्मेलनलाई नजिकबाट हेरिएको थियो किनकि दुवै मुलुकका वार्ता सहयोगीहरूले जुलाईमा तयार पारेको व्यापार सम्झौताको खाकाको विवरणमा मतभेदहरू समाधान गर्न संघर्ष गरिरहेका थिए ।
सम्झौताअनुसार दक्षिण कोरियाले अमेरिकामा तीन सय ५० अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता जनाएको थियो । लीसँगै डिनर टेबलमा बसेका ट्रम्पले आफूहरुबीच ‘बृहत्’ भेटवार्ता भएको बताए पनि के–के कुरामा सम्झौता भएको हो भन्नेबारे उक्त अवसरमा जानकारी गराएनन् ।
‘धेरै कुरामा निर्णयमा पुगिएको छ हामीले धेरै प्रतिक्षा गरिएको व्यापार सम्झौतालाई अन्तिम रूप दियौँ । राष्ट्रिय सुरक्षासँग सम्बन्धित केही अन्य केही विषयमा पनि छलफल गरेका छौँ । मलाई लाग्छ, हामी धेरै महत्वपूर्ण विषयहरूमा निष्कर्षमा पुग्यौँं’, उनले भने ।
ट्रम्पले कोरियाली प्रायःद्वीपमा सुरक्षा तनाव समाधान गर्ने आफ्नो प्रतिबद्धता पनि दोहो¥याए । उत्तर कोरिया ‘जसरी प्रस्तुत हुनुपर्छ त्यसो हुन नसकेको’ उनले बताए । उत्तर कोरियाली नेता किम जोङ उनलाई संकेत गर्दै राष्ट्रपति ट्रम्पले भने, ‘म किमलाई राम्रोसँग चिन्छु र मलाई लाग्छ सबै कुरा राम्रोसँग अघि बढ्नेछ ।’ रासस/योन्हाप