विद्युतीय कारोबार ऐनअन्तर्गत दायर मुद्दाका अभियुक्त खगेन्द्र सुनारलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।बुधबार अदालतमा हाजिर भएका सुनारको बयान तथा थुनछेक बहसपछि न्यायाधीश नगेन्द्र कालाखेतीको इजलासले धरौटीमा रिहा गर्ने आदेश दिएको हो। अधिवक्ता मनीषा गौतमको जाहेरीका आधारमा सुनारविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दायर भएको थियो। गौतमले आफूलाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको भन्दै स्क्रिनसटसहित प्रमाण पेश गरेकी थिइन्। सुनार मन्त्रीमा सिफारिस भएपछि उनीविरुद्धको मुद्दा पुनः चर्चामा आएको थियो। यसअघि काभ्रे अदालतले ५ साउनमा दैलेख प्रहरीलाई पक्राउ अनुमति सहित पुर्जी जारी गरेको थियो। सुनारको तर्फबाट वरिष्ठ अधिवक्ता यदुनाथ खनालसहित अधिवक्ता महेन्द्र तामाङ, चक्रमान विश्वकर्मा, वाल्मीकि आउजी, नारायण बुढापृथी, गणेश बराइली र रामबहादुर मिजारले बहस गरेका थिए। वादीको तर्फबाट सहन्यायाधिवक्ता निष्ठा कर्माचार्यले बहस गरेकी थिइन्।