काठमाडौं, निरन्तरको वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी र पहिरो जाँदा प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन् । तमोर करिडोर, मेची राजमार्ग र बीपी राजमार्ग बाढी–पहिरोका कारण यातायात आवागमन पूर्णरूपमा रोकिएको प्रहरीले जनाएको छ । पाँचथर र धनकुटाको सिमानामा पर्ने नावा खोलामा आएको बाढीका कारण धरान–धनकुटा–मूलघाट हुँदै पाँचथर र ताप्लेजुङ जोड्ने तमोर करिडोर अवरुद्ध भएको हो । सो क्षेत्रमा ठूलो मात्रामा माटो र ढुंगामाटो बगेर सडक ढाकिएकाले अहिलेसम्म ट्राफिक सञ्चालन हुन नसकेको स्थानीय प्रशासनले जनाएको छ । यसैगरी मेची राजमार्ग अन्तर्गत इलामको राजदुवाली क्षेत्रमा पनि सडक अवरुद्ध भएको छ । गत असोजमा आएको बाढी–पहिरोपछि खोलिएको नयाँ ट्र्याकमा पुनः पहिरो गएर सडक भासिएको र सवारी चलाउन असुरक्षित भएको इलाम प्रहरीले जनाएको छ । मोन्था चक्रवातको आंशिक प्रभावले कोशी प्रदेशका इलामसहितका जिल्लामा वर्षाको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालयले बिहीबार साँझदेखि सो सडकखण्डमा सवारी आवागमन रोक लगाएको थियो । त्यस्तै, काभ्रेको जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोका कारण बीपी राजमार्ग पनि अवरुद्ध भएको छ । प्रहरी र सडक विभागका टोलीले पहिरो हटाउने प्रयास थालेका भए पनि लगातारको वर्षाका कारण काममा कठिनाइ भइरहेको बताइएको छ । प्रहरीले अनावश्यक यात्रा नगर्न तथा जोखिम क्षेत्रबाट टाढा रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।