काठमाडौं । जापान सरकारले बीपी राजमार्ग पुनः निर्माण र मर्मतका लागि दुई अर्ब ६० करोड अनुदान सहयोग प्रदान गरेको छ । बिहीबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकार र जापान सरकारबीच अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा मन्त्रालयका सचिव घनश्याम उपाध्याय र नेपालका लागि जापानका राजदूत तोरु मायदाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । महोत्तरीको बर्दिवासदेखि काभ्रेको धुलिखेलसम्म १५९ किलोमिटर लम्बाइको बीपी राजमार्ग राजधानी काठमाडौंबाट पूर्वी तराई जोड्ने नेपालको एक महत्वपूर्ण राष्ट्रिय राजमार्ग हो । उक्त राजमार्ग जापान सरकारकै अनुदान सहयोगमा निर्माण गरिएको थियो ।
गत वर्षको बाढीपहिरोका कारण सो राजमार्गका विभिन्न खण्डमा गम्भीर क्षति पुगेको थियो । विशेषगरी रोशी नदी आसपासका केही भागमा पूर्णरुपमा क्षति भएको थियो । क्षतिग्रस्त खण्डको पुनः निर्माण र मर्मतसम्भारका लागि जापान सरकारबाट सहयोग प्राप्त भएको अर्थ मन्त्रालयको भनाइ छ । सोही समारोहमा अनुदान सम्झौतामा नेपालका तर्फबाट अर्थ मन्त्रालयका वैदेशिक सहायता समन्वय महाशाखाका सहसचिव धनिराम शर्मा र जापानका तर्फबाट जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी मिजुकीले हस्ताक्षर गरेका हुन् ।
समारोहमा अर्थमन्त्री खनालले जापान नेपालका लागि एक विश्वसनीय र भरपर्दो विकास साझेदार रहेको उल्लेख गर्दै जापानले नेपालको आर्थिक–सामाजिक विकास र पूर्वाधार निर्माणका क्षेत्रमा निरन्तर पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गरे । उनले हाल प्रदान गरिएको अनुदान सहायता नेपाल र जापनबीचको मित्रता र सहकार्यको अर्काे महत्वपूर्ण प्रतीक भएको बताए ।
जापानी राजदूत तोरुले जापानले प्रदान गरेको अनुदान सहयोगले बीपी राजमार्गका क्षतिग्रस्त भागहरु पुनः स्थापना गर्न सहयोग पुग्नेमा विश्वास गरे । उनले नेपाल र जापानबीच रहेको दशकौँ पुरानो मित्रतापूर्ण सम्बन्ध स्मरण गरे । जाइकाका प्रमुख प्रतिनिधि मित्सुजाकीले नेपाल–जापान सम्बन्ध र सहयोगका विविध क्षेत्रबारे धारणा राखेका थिए ।
हस्ताक्षर समारोहमा अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, काठमाडौंस्थित जापानी दूतावास र जाइकाका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो ।
रातको समयमा सवारी आवागमन निषेध
यसैबीच, निरन्तर भइरहेको वर्षाका कारण बाढीपहिरोको जोखिम हुन सक्ने भन्दै बिहीबार र शुक्रबार रातको समयमा बिपी राजमार्ग र मध्यपहाडी लोकमार्गमा सवारीसाधन आवगमन निषेध गरिएको राससले जनाएको छ ।
बढेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहीबार एक सूचना जारी गर्दै अविरल वर्षाका कारण बाढीपहिरोको जोखिम बढेको भन्दै दुई दिनसम्म रातको समयमा सवारीसाधन सञ्चालन नगर्न सबै सरोकार भएकालाई आग्रह गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीद्वारा जारी सूचनामा भनिएको छ, ‘कात्तिक १३ र १४ गतेको साँझ ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म बिपी राजमार्ग हुँदै सिन्धुलीबाट काठमाडौंतर्फ जाने सवारीसाधन आवागमनमा निषेध गरिएको छ ।’
उक्त समयमा सवारीसाधन खुर्कोट बजारमा रोकिने बताउँदै सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले अत्यावश्यक काम बाहेक यात्रा नगर्न सबैलाई आग्रह गरे । दिउँसोको समय भारी वर्षा भएमा सुरक्षा निकायको समन्वयमा जुनसुकै स्थानमा सवारीसाधन रोक्न सकिने उनले जानकारी दिए ।
‘रातको समयमा सवारी सञ्चालन रोक्नुको उद्देश्य यात्रुको सुरक्षा सुनिश्चित गर्नु र आकस्मिक दुर्घटनाबाट मानवीय र भौतिक क्षति जोगाउनु हो । बीपी र मध्यपहाडी मार्गका केही खण्डमा जोखिम अत्यधिक बढेकाले रातको समयमा सवारीसाधन चलाउन निषेध गरिएको हो’, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीले भने । भारी वर्षाका कारण बाढीपहिरोको उच्च जोखिम देखिएकाले यात्रुलाई अनावश्यक यात्रा नगर्न र मौसम सुधार भएपछि मात्र यात्रा गर्न उनले सुझाव दिए ।