दोलखा । मङ्गलबार बिहानदेखि परेको वर्षाले जिल्लाको प्रमुख मानिने धानबालीमा क्षति पुर्याएको छ । वर्षाका कारण भित्र्याउन तयार भएको धानबालीमा क्षति पुगेपछि किसान चिन्तित भएका छन् ।
जिल्लाका अधिकांश बेँसी खेतमा धान पाकेर काट्ने बेला भएको छ । पाकेको धान प्रतिकूल मौसमका कारण समयमै भित्र्याउन नपाउँदा जिल्लाभरका किसान चिन्तित भएका हुन् । कतिपय किसानले धान काटेर खेतमा नै राखेका छन् । केहीले भने भित्र्याएको बताएका छन् । धेरैजसो किसान तिहारलगत्तै धान काट्ने तयारीमा थिए । तर गत सोमबारदेखि नै मौसममा आएको परिवर्तनले जिल्लाका किसानले धान काट्न सकिरहेका छैनन् । जिल्लामा यस वर्ष दुई हजार नौ सय १४ हेक्टर क्षेत्रमा धान रोपाइ भएको थियो । हालसम्म करिब ३० प्रतिशत खेतमा मात्रै धान काटेर सकिएको छ । किसानले काटेको धान समेत खेतको आलिमै छाडेका छन् ।
जिल्लाको वैतेश्वर–३ मजुवा वेँशीका दर्जनौँ किसानले अहिले काटेको धानलाई वर्षाबाट जोगाउन एकैठाउँमा थुपारेर पालले छोपेर राखेको स्थानीय कुमार तामाङले बताए । मौसमविद्हरुको धान काट्न दिएको सुझावअनुसार धान काटे पनि भित्र्याउन नपाएको स्थानीय रामबहादुर राउतले बताए । तामाकोशी–१ भिरकोटका लक्ष्मन केसीको गुनासो पनि उस्तै छ । उनले यहाँका दर्जनौँ किसानले धान काटेर खेतको आलाीमा छाडेको बताए । उनका अनुसार काटेको धान खेतमा नै भिजेर बसेको छ । जिल्लाका नौवटै स्थानीय तहका तल्लो क्षेत्रमा धान खेती हुने गरेको छ । मुख्यगरी भिमेश्वर नगरपालिका, मेलुङ गाउँपालिका, तामाकोशी, कालिञ्चोक र बैतेश्वर गाउँपालिकामा धेरै धान खेती हुने गरेको छ । गौरीशंकर, शैलुङ, बिगु, जिरीलगायतका क्षेत्रमा पनि धान खेती हुँदै आएको छ । गत वर्ष जिल्लाभर सात हजार नौ सय ४९ मेट्रिक टन धान उत्पादन भएको थियो ।