अनुशासन मानव जीवनको पहिलो खुड्किलो हो । अनुशासन भनेको नियम, संयम र जिम्मेवारीपूर्वक आचरण गर्ने स्वभाव हो । यसले मानिसलाई आफ्नो कर्तव्य बुझ्न, समयमा काम गर्न र समाजमा शान्ति र सुव्यवस्था कायम गर्न सिकाउँछ । अनुशासित समाजले राष्ट्रमा सुशासन कायम गर्छ, भ्रष्टाचार नियन्त्रण गर्छ, समाजलाई सरसफाइ र सबैलाई समान व्यवहार गर्ने बनाउँछ ।
एउटा समाजमा बसेपछि हरेक मानिस अनुशासित हुनु अत्यन्त आवश्यक कुरा हो । अनुशासनले घर, समाज, राष्ट्र र अन्तर्राष्ट्रियस्तरसम्म प्रभाव पार्छ । घरमा अनुशासन नभएमा त्यस घरको स्वरूप नै बिग्रन्छ । परिवारका सदस्यहरूबीच विवाद हुन्छ, असहयोग र अव्यवस्था बढ्छ । ठूलाले सानालाई माया गर्ने, सानाले ठूलाको आदर गर्ने । त्यस्तै, समाजमा पनि यदि मानिसहरू नियम र मर्यादा पालन गर्दैनन् भने अपराध, भ्रष्टाचार र अव्यवस्था फैलिन्छ ।
अनुशासन भनेको बाहिरी नियम मात्र होइन, यो आन्तरिक आत्मनियन्त्रण पनि हो । जसले आफ्नो समय, व्यवहार र बोलीमा संयम राख्छ, उसले मात्र साँचो अनुशासन अपनाएको हुन्छ । विद्यार्थी जीवनमा अनुशासनले अध्ययनमा सफल बनाउँछ, कर्मचारी जीवनमा अनुशासनले कार्यक्षमता बढाउँछ र नागरिक जीवनमा अनुशासनले राष्ट्रलाई समुन्नत बनाउँछ ।
त्यसैले, अनुशासन मानव जीवनको मेरुदण्डजस्तै हो । अनुशासनविना विकास, शान्ति र प्रगति सम्भव हुँदैन । मानिसले आफ्नो जीवनमा हरेक कार्य गर्दा अनुशासित भएर काम गर्नुपर्छ । घरमा घरका नियमहरू पालना गर्नुपर्छ । घरमा अनुशासन भएमा घर स्वर्ग हुन्छ । विद्यालय वा कलेजमा अध्ययन गर्नेले आफ्नो शैक्षिक क्षेत्रको अनुशासन पालना गर्नुपर्छ । जसले गर्दा राम्रो शिक्षा पाउन सकिन्छ र गुरु र चेलाबीच राम्रो सम्बन्ध रहन्छ । कार्यस्थलमा काम गर्ने कर्मचारीहरूले कार्यालयमा मर्यादित र अनुशासित भएर काम गर्नुपर्छ ।
यससँगै, बाटोमा हिँड्दा, सवारीसाधनमा यात्रा गर्दा र समाजमा बस्दा पनि मर्यादित र अनुशासित रहनु आवश्यक हुन्छ । सार्वजनिक स्थानहरूमा यदि मानिसहरू अनुशासित भएर व्यवहार गर्छन् भने समाज सुन्दर, सुरक्षित र व्यवस्थित बन्छ । अनुशासनले प्रत्येक नागरिकमा जिम्मेवारीको भावना जगाउँछ र आपसी सम्मानको वातावरण सिर्जना गर्छ ।
त्यसैले, अनुशासन कुनै जबरजस्ती नियम होइन, यो सभ्य र सुसंस्कृत जीवनको पहिचान हो । अनुशासनले व्यक्ति, परिवार र समाज सबैलाई उन्नत दिशातर्फ अघि बढाउँछ ।
१. विद्यालयमा अनुशासन: विद्यालय ज्ञानको ढोका खोल्ने मन्दिर हो । विद्यालयमा अनुशासन हुनु विद्यार्थीको सफलताको पहिलो सिँढी हो । विद्यालयमै अनुशासित नबने जीवनभर नराम्रो बानी लाग्छ । समयमा विद्यालय पुग्ने कार्यले समयको महत्व झल्काउँछ, शिक्षकको सम्मान गर्नेले आदर र सत्कार झल्काउँछ, आफूले पाएको गृहकार्य समयमै पूरा गर्नेले उत्तरदायित्व झल्काउँछ । विद्यालयका नियमहरू पालना गर्ने विद्यार्थी अनुशासित विद्यार्थीका रूपमा देखिन्छन् । त्यसैले अनुशासनले विद्यार्थीमा जिम्मेवारी, समयप्रबन्ध र आत्मनियन्त्रणको भावना विकास गर्न मद्दत गर्छ ।
२. कार्यालयमा अनुशासन: आज नेपालका धेरै कार्यालयको कार्यसम्पादनमा कमी आएको छ । अनुशासनको कमी र हेपाहेपीको कारणले नै यस्तो भएको हो । कामलाई काम ठान्ने गरेमा कार्यसम्पादनमा वृद्धि हुन्छ र कार्यालयमा अनुशासनले कार्यक्षमता र विश्वास बढाउँछ । कर्मचारीले समयमा कार्यालय पुग्नु भनेको अनुशासित हुनु हो भने दिइएको काम समयमै सम्पन्न गर्नु, सहकर्मीप्रति आदर राख्नु र नियमअनुसार काम गर्नु पनि अनुशासनकै प्रतीक हो । अनुशासित कार्यालयले संस्था वा राष्ट्रको उत्पादनशीलता र विश्वसनियता दुवै बढाउँछ । जनताले हेर्ने दृष्टिकोण पनि फरक पर्छ ।
३. व्यापारमा अनुशासनः
आजको दिनमा आफू अगाडि बढ्न अरूलाई बिगार्ने चलन धेरै बढेको छ । सामाजिक सञ्जालमा समेत जे पायो त्यही प्रचार गरी झूटो विज्ञापन दिने प्रवृत्ति बढ्दो छ । तर व्यवसायमा अनुशासन अत्यन्त जरुरी हुन्छ । झूटो प्रचारबाजी नगर्नु, ग्राहकसँग इमानदारीपूर्वक व्यवहार गर्नु, गुणस्तरीय वस्तु वा सेवा प्रदान गर्नु, आर्थिक लेनदेनमा पारदर्शिता राख्नु, अखाद्य वस्तु नबेच्नु व्यवसायीमा हुनुपर्ने अनिवार्य गुणहरु हुन् । अनुशासित व्यापारीले समाजमा राम्रो छवि बनाउँछ र दीर्घकालीन सफलता प्राप्त गर्छ र आफ्नो व्यवसायलाई कहिल्यै पतन हुन दिँदैन ।
४. समाजमा अनुशासन: मानिसलाई समाज चाहिन्छ । समाजमा अनुशासनले शान्तिसँगै सद्भाव र एकता ल्याउँछ । अरूलाई हानि हुने काम नगर्नु, सामाजिक नियम र कानुनको पालन गर्नु, अरूको अधिकारको सम्मान गर्नु र सामाजिक मूल्य र परम्पराको संरक्षण गर्नु अनुशासनकै उदाहरण हुन् । जब समाजका सबै सदस्य अनुशासित हुन्छन्, तब समाज स्थिर, सुरक्षित र प्रगतिशील बन्छ । बाह्य हस्तक्षेपबाट पनि जोगिन सकिन्छ र बाहिरी वातावरण पनि राम्रो देखिन्छ ।
५. बाटोमा अनुशासन: बाटो सबैको साझा हो । त्यसैले सडक प्रयोग गर्दा अरूलाई हानि पुर्याउनु हुँदैन । सडकमा हिँड्दा वा सवारी चलाउँदा नियमको पालना गर्नु सबै नागरिकको कर्तव्य हो । बाटोमा फोहोर नफ्याँक्नु, जथाभावी नथुक्नु, गुट्खा र चुरोट खाई वातावरण प्रदूषित नगर्नु, ट्राफिक नियम मान्नु, लेनमा गाडी चलाउनु, ट्राफिक सिग्नलको पालना गर्नु र पैदल यात्रुको अधिकारको सम्मान गर्नु पनि अनुशासनका मूल तत्व हुन् । यातायातमा अनुशासन नहुँदा दुर्घटनाहरू बढ्छन्, त्यसैले सडकमा अनुशासन जीवनरक्षक हुन्छ ।
६. सार्वजनिक स्थलमा अनुशासन: नेपालमा विभिन्न समयमा विभिन्न चाडपर्वहरू मनाइँदै आएको छ । मन्दिर, पार्क, बसस्ट्यान्ड, बजार वा अन्य सार्वजनिक स्थलमा अनुशासनले सभ्यता झल्काउँछ । सरसफाइमा ध्यान दिनु, अरूलाई असुविधा नपुर्याउने व्यवहार गर्नु र नियमहरू पालना गर्नु नागरिक जिम्मेवारी हो । अनुशासित नागरिकहरूले मात्र सफा र व्यवस्थित समाज निर्माण गर्न सक्छन् ।
७. व्यक्तिगत कामका लागि अनुशासन: व्यक्तिगत जीवनमा पनि अनुशासन अत्यावश्यक छ । बिहान समयमै उठ्नु, सफा बस्नु, हरेक दिन नुहाउनु, आलसी नबन्नु, आफ्नो दिनचर्या निश्चित गर्नु, स्वस्थ आहार लिनु र समयको सदुपयोग गर्नु अनुशासनका महत्वपूर्ण पक्ष हुन् । अनुशासित व्यक्ति जीवनमा सफलता, सम्मान र आत्मसन्तुष्टि प्राप्त गर्छ ।
८. राष्ट्रिय जीवनमा अनुशासनः
हरेक नागरिकले राज्यको नियम पालना गर्नुपर्छ । देशको कानुनको पालना गर्ने, सडकमा सवारी चलाउँदा अनुशासित हुने, समयमा सवारी कर तिर्ने र आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने नागरिकले राष्ट्रिय अनुशासन पालन गरेको मानिन्छ । फोहोर नगर्नु, सार्वजनिक स्थलमा होहल्ला नगर्नु, अनावश्यक ध्वनि प्रदूषण नगर्नु, विद्यालय वरिपरि शान्ति कायम राख्नु, बालबालिकालाई सुरक्षित राख्नु, मन्दिरमा राम्रो आचरण देखाउनु, लाइन नमिच्नु र सहयोगको भावना राख्नु पनि अनुशासन हो ।
राष्ट्रको विकासका लागि नागरिकहरूले कानुनको पालना गर्नुपर्छ, आयकर तिर्नुपर्छ, आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्नुपर्छ । राष्ट्रप्रेम, इमानदारी र कर्तव्यनिष्ठा नै राष्ट्रिय अनुशासनका आधार हुन् । जब नागरिक अनुशासित हुन्छन्, तब राष्ट्र स्वाभिमानी र समृद्ध बन्छ ।
९. राजनीतिमा अनुशासन: नेपालमा धेरै सरकार आए तर अनुशासनमा कमी देखियो । राजनीतिमा अनुशासन हुनु अत्यन्तै आवश्यक कुरा हो । झूटो प्रचार र आश्वासन नदिनु, गलत प्रचारबाजी नगर्नु नै नेताको अनुशासन हो । राजनीति भनेको देशको शासन, नीति निर्माण र जनताको हितका लागि काम गर्ने जिम्मेवारीपूर्ण क्षेत्र हो । यो क्षेत्र अनुशासित र मर्यादित भयो भने मात्र देश विकास हुन्छ । यदि राजनीतिक नेताहरू र कार्यकर्ताहरू अनुशासित भएनन् भने देशमा अराजकता, भ्रष्टाचार र अन्याय फैलिन्छ जसले देशलाई अधोगतिमा लैजान्छ ।
राजनीतिमा अनुशासनको अर्थ हो — पारदर्शितासँग काम गर्नु, सत्यनिष्ठा र जनताको सेवा गर्नु, इमानदारी र जनउत्तरदायित्व पालन गरी देश विकासमा अग्रसर हुनु । नेताहरूले पार्टीका नियमहरू मान्नु, संविधान र कानुनको सम्मान गर्नु पनि अनुशासित हुनु हो । अरूको विचार सुन्ने, सहकार्य गर्ने र मतभेदलाई सभ्य तरिकाले प्रस्तुत गर्ने व्यवहार पनि अनुशासन हो ।
अनुशासित राजनीतिज्ञले आफ्नो स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताको हितलाई प्राथमिकता दिन्छ । त्यस्ता नेताले देशलाई स्थायित्व, विकास र न्यायको बाटोमा अघि बढाउन सक्छ । तर, अनुशासनहीन राजनीतिले दलभित्र फुट, सत्ता लोभ र जनताको विश्वास गुमाउने अवस्था सिर्जना गर्छ ।
त्यसैले, राजनीतिमा अनुशासनले राम्रो शासन ल्याउँछ, पारदर्शी प्रशासन बनाउन मद्दत गर्छ र समृद्ध राष्ट्र निर्माणको आधार तयार पार्छ । यदि राजनीति अनुशासित भयो भने राष्ट्र स्वतः सुव्यवस्थित र प्रगतिशील बन्छ ।
१०. घरमा अनुशासन: अन्त्यमा भन्नुपर्दा, घरदेखि अनुशासनको पालना गर्नुपर्छ । जसको घर लथालिंग र अव्यवस्थित छ, उसले समाजमा केही गर्न सक्दैन । घर नै अनुशासनको पहिलो पाठशाला हो । घरमा अनुशासित हुनेले समाज र राष्ट्रमा पनि अनुशासित हुन्छ । बाल्यकालदेखि नै बालबालिकालाई कार्य गर्न सिकाउने, फूलबगैँचा राम्रो बनाउने, दैनिक सरसफाइ गर्ने, अभिभावक र सन्तानबीच आपसी सम्मान गर्न सिकाउने, समयपालन गर्न सिकाउने, घर सफाइ र जिम्मेवारी बोध गराउने कार्य अनुशासन हो ।
पाप र धर्म के हो भनेर सिकाउने, अरूको हक नलिनु भन्ने चेतना जगाउने, भक्ति भावमा लाग्ने, कर्म गरेर अघि बढ्ने सिकाउने सबै अनुशासनका मूल शिक्षा हुन् ।
निष्कर्ष : अन्त्यमा भन्नुपर्दा, अनुशासनको अभ्यास घरदेखि नै गर्नुपर्छ । जसको घरमा अनुशासन हुन्छ, उसको समाज र राष्ट्र पनि अनुशासित हुन्छ । आउनुहोस्, हामी सबै मिलेर एक सभ्य, अनुशासित र जिम्मेवार समाजको निर्माण गरौँ । नेपाल नियम नमानेको देश होइन, अनुशासन र सहयोगी भावनाले भरिएको देश हो भनेर विश्वसामु देखाउन आजैदेखि प्रयास गरौँ । हरेक व्यक्तिले आफ्नो क्षेत्रबाट अनुशासित भई काम गर्दा मात्रै नेपाल समुन्नत र आदर्श राष्ट्र बन्न सक्छ । आऊ, सबै मिलौँ — एक सभ्य र अनुशासित समाज निर्माण गरौँ । नेपाल नियम नमान्ने र अनुशासनहीन देश होइन, बरु सहयोगी, जिम्मेवार र सभ्य नागरिकले भरिएको देश हो भनेर सबैतिर फैलाउने कार्य आजैदेखि सुरु गरौँ । त्यसका लागि हरेक व्यक्ति आफ्नै क्षेत्रमा अनुशासित भई काम गरौँ ।