राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुशासन, राजनीतिक स्थायित्व र नयाँ सहकार्यका लागि ‘वृहत् राजनीतिक संवाद’ कार्यक्रम आयोजना गरेको छ। काठमाडौंको बालुवाटारस्थित एक होटलमा शुक्रबार बिहानदेखि संवाद कार्यक्रम सुरु भएको हो।
कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी, रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले लगायत विभिन्न राजनीतिक दलका नेता, स्वतन्त्र विचारक, अभियन्ता र युवा पुस्ताका प्रतिनिधिहरू सहभागी छन्।
रास्वपाका अनुसार जेनजी आन्दोलनको मर्म र भावनाअनुसार नयाँ राजनीतिक विकल्प खोज्ने उद्देश्यले यो संवाद कार्यक्रम आयोजना गरिएको हो। उपसभापति डा. स्वर्णिम वाग्लेले सहकार्य र संवादबिना देश पुनः राजनीतिक पश्चगमनतर्फ धकेलिने सम्भावना बढ्ने बताए।
उनका अनुसार, “देशको सुशासन र स्थायित्वका लागि नयाँ पुस्ता, स्वतन्त्र विचारक र राजनीतिक नेतृत्वबीच सहकार्य आवश्यक छ। यस संवादले नयाँ विकल्पको बाटो देखाउने अपेक्षा गरिएको छ।”
रास्वपाले आगामी दिनमा पनि यस्ता खुला संवादका माध्यमबाट राष्ट्रिय सहमति र नयाँ राजनीतिक दृष्टिकोण निर्माण गर्न अग्रसर रहने जनाएको छ।