नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य धर्म निरौलाले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई नेतृत्वबाट बिदा हुनुपर्ने बताएका छन्। माओवादी केन्द्रसँग एकता गर्ने निर्णयपछि अलग्गै पार्टी बनाउने तयारीस्वरूप आयोजित भेलाअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अब पार्टीको नेतृत्व महासचिव घनश्याम भुसालले लिनुपर्ने बताए। निरौलाका अनुसार, नेता खनाल संरक्षकको भूमिकामा रहनु पर्छ भने महासचिव भुसाल संयोजक भएर अघि बढ्नुपर्ने समय आएको हो।उनले भने, “हामी यही पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्छौं। सबै कम्युनिस्ट पार्टीबीच पुनर्गठन अभियान चलाउँछौं र मिल्दै जान्छौं,” उनले भने, “अहिले हामी माधवजीहरूबाट अलग हुँदैछौं। एक साताभित्र राष्ट्रिय कार्यकर्ता भेला गरेर हाम्रो दृष्टिकोण सार्वजनिक गर्छौं।” निरौलाले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि भ्रष्टाचारको मुद्दा लाग्दा आफूहरूले कार्यवाहक नेतृत्व तोक्ने प्रस्ताव गरे पनि स्वीकार नगरेको आरोप पनि लगाए।