काठमाडौं । सरकारले भिजिट भिसामा विदेश जानेहरुका लागि लचिलो व्यवस्था गरेको छ । यसअघिको व्यवस्था झन्झटिलो र अनावश्यक कडाइ गरिएको तथा त्यसमा विमानस्थल अध्यागमनका कर्मचारीहरुले चलखेल गर्ने गरेको गुनासोपछि सरकारले नयाँ व्यवस्था गरेको हो ।
अध्यागमन विभागले यसलाई सहज पारिएको जनाएको छ । यही कात्तिक १३ गतेको मन्त्रीस्तरीय निर्णयअनुरुप विभागले लचिलो व्यवस्था कार्यान्वयनमा ल्याएको उल्लेख गरेको छ ।
योसँगै २०८० माघ १० देखि लागू भएको छबुँदे मापदण्ड खारेज भएको छ । नयाँ व्यवस्थाअनुसार अबदेखि भिजिट भिसामा जानेले कम्तीमा छ महिना वैध अवधि भएको राहदानी देखाउनुपर्नेछ । त्यस्तै, सम्बन्धित देशको प्रवेशाज्ञा (भिसा) वा अन अराइभल भिसा प्राप्त हुने मुलुक भए प्रवेशाज्ञा चाहिनेछैन ।
यसैगरी, प्रस्थान गर्ने गन्तव्यसम्मको हवाई टिकट, आफू भ्रमण गर्ने प्रयोजनका लागि जान लागेको, सोको लागि आवश्यक कागजात साथमा रहेको र यसबाट सिर्जित परिणाममा स्वयम् जिम्मेवार रहने व्यहोराको प्रस्थान गर्ने व्यक्तिले गरेको स्वघोषणा देखाउनुपर्नेछ ।