काठमाडौं । एयरबस हेलिकोप्टरको ‘सुरक्षा तथा समर्थन र सेवाहरू’ विषयक एकदिने संगोष्ठी काठमाडौंमा सम्पन्न भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको सहयोगमा आयोजित कार्यक्रममा हेलिकोप्टर सञ्चालनमा उडान सुरक्षा सचेतना, दुर्घटना रोकथाम र डेटा–आधारित सुरक्षा प्रणालीहरूबारे विस्तृत छलफल गरिएको थियो ।
कार्यक्रममा नेपालभरका हेलिकोप्टर सञ्चालनकर्ता, पाइलट र विमान पेशेवरहरू सहभागी भएका थिए । कार्यक्रमको उद्घाटन नेपालस्थित फ्रान्सकी राजदूत भर्जिनी कोर्तेवाल र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले संयुक्तरूपमा गरेका थिए । कार्यक्रममा एयरबस हेलिकोप्टरकी हेड अफ एभिएसन सेफ्टी एन्ड क्वालिटी फ्लोरेन्स भेरलुट, हेड अफ लाइट हेलिकप्टर्स प्रोग्राम जेरोम रोनसिन, र दक्षिण एसियाका प्रमुख सनी गुग्लानीले सम्बोधन गरेका थिए । एयरबस हेलिकोप्टरकी हेड अफ एभिएसन सेफ्टी एन्ड क्वालिटी भेरलुटले एयरबसको सम्पूर्ण निर्णय प्रक्रियाको केन्द्रमा ‘सुरक्षा’ रहने बताइन् । उनले भनिन्, ‘सुरक्षा कुनै स्थिर लक्ष्य होइन; यो सोच र अभ्यास हो, जसलाई निरन्तर सुधार र ज्ञान आदानप्रदानले सुदृढ बनाउँछ ।’
संगोष्ठीमा सहभागीहरूले सुरक्षा व्यवस्थापन प्रणाली, फ्लाइट डेटा मोनिटरिङ, दुर्घटना तथ्याङ्क विश्लेषण र हेलिकप्टर सञ्चालनमा जोखिम न्यूनीकरणका उपायका बारेमा छलफल भएको थियो । कार्यक्रमको समापन एयरबस हेलिकोप्टरको आगामी वर्षहरूमा विश्वसनियता, मर्मत सुधार र प्राविधिक सहयोग विस्तार गर्ने योजनासम्बन्धी सत्रसँग गरिएको थियो । आयोजकका अनुसार सो संगोष्ठीले नेपालको रोटरक्राफ्ट समुदायमा उडान सुरक्षाबारे थप जागरूकता र सहकार्यको वातावरण सिर्जना गरेको छ ।