सहरी विकासमन्त्री कुलमान घिसिङले १५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि बञ्चरेडाँडा ल्याण्डफिल साइटका स्थानीयवासीले फोहोर फाल्न दिने सहमति जनाएका छन्। आज बिहान नुवाकोट र धादिङको सिमानामा पर्ने बञ्चरेडाँडामा पुगेर मन्त्री घिसिङले स्थानीयवासीसँग प्रत्यक्ष भेट गर्दै १५ दिनभित्र माग सम्बोधन गर्ने मौखिक प्रतिबद्धता जनाएका हुन्। ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङका अनुसार मन्त्री घिसिङले प्रतिबद्धता जनाएपछि स्थानीयहरूले फोहोर फाल्न अनुमति दिएका छन्। “मन्त्रीज्यूले १५ दिनभित्र स्थानीयको माग पूरा गर्ने वाचा गर्नुभयो, त्यसपछि हामीले फोहोर फाल्न दिन सहमति जनाएका हौं,” अध्यक्ष तामाङले बताए। स्थानीयको सहमति मिलेसँगै काठमाडौं उपत्यकाबाट बीचमा रोकिएका फोहोर बोकेका गाडीहरू बञ्चरेडाँडा तर्फ गएका छन्। पछिल्लो केही दिनयता स्थानीयहरूले विभिन्न माग राख्दै काठमाडौं उपत्यकाको फोहोर विसर्जन रोक्दै आएका थिए। उनीहरूले फोहोर विसर्जन वैज्ञानिक रूपमा व्यवस्थित हुनुपर्ने र विगतका सहमति कार्यान्वयन गर्नुपर्ने माग अघि सारेका थिए। २०७९ जेठ २६ गते काठमाडौं महानगरसँग भएको १८ बुँदे सहमतिमा — फोहोर विसर्जन रातको समयमा मात्र गर्ने, दुर्गन्ध नआउने व्यवस्था मिलाउने, फोहोर बोकेका गाडीबाट लिच्चड नचुहाउने, र लिच्चड खोलामा नजान दिने वैज्ञानिक व्यवस्थापन गर्ने — जस्ता प्रावधानहरू उल्लेख थिए। ककनी गाउँपालिका–१ र २ तथा धुनबेसी नगरपालिका–१, २ र ३ का स्थानीयवासीले माग सम्बोधन नभएसम्म फोहोर फाल्न नदिने निर्णय गरेका थिए।उनीहरूले मेयर बालेन साह र मन्त्री कुलमान घिसिङ फिल्डमा आउनुपर्ने माग गरेका थिए।मेयर बालेन नआएपछि मन्त्री घिसिङ आफैं आज बिहान बञ्चरेडाँडा पुगे र वार्ता गरी सहमति जुटाएका हुन्।