काठमाडौं । काठमाडौंमा प्रहरी कार्यालयबाट जेन्जी प्रदर्शनका क्रममा लुटिएको हतियारसहित फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। काभ्रेपलान्चोकको महाभारत गाउँपालिका–१ स्थायी घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ बस्दै आएका २२ वर्षीय राजा तामाङलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले जनाएको छ।
काठमाडौं महानगरपालिका–७, लाहुरे टोलस्थित प्रवीण घिमिरे (भरत विश्वकर्मा) द्वारा सञ्चालित सोलुखुम्बु खाजा घर बाहिर प्लास्टिकको कुर्सीमा राखिएको कालो झोलाभित्र नम्बर नखुलेको ग्यास गनको बट र नाल छुट्टाछुट्टै अवस्थामा फेला परेको ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठले बताए ।
गोप्य सूचनाको आधारमा सो झोलाबारे अनुसन्धान गर्ने क्रममा उक्त झोला राजा तामाङले राखेको पत्ता लागेपछि कात्तिक १४ गते साँझ गोकर्णेश्वर–३, माइती नेपाल नजिकैबाट तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। तामाङले असोज १३ गते साँझ सो ग्यास गनसहितको झोला उक्त स्थानमा आफैंले राखेको पक्राउपछि गरिएको प्रारम्भिक सोधपुछमा स्वीकार गरेको प्रहरीले जनाएको छ।
प्रहरीले कानुनी प्रक्रिया अनुसार तामाङको डेरा कोठा खानतलासी गर्दा विभिन्न सिरियल नम्बर अंकित तीन थान गोलीसमेत बरामद गरिएको जनाएको छ । तामाङलाई बरामद हतियार र गोलीसहित थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको छ।