काठमाडौं । जेनेरेसन–Z आन्दोलनको क्रममा प्रहरी वृत्त स्वयम्भूको हातहतियार लुटपाट गरी बिक्री वितरण गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्। प्रहरीका अनुसार गोप्य सूचनाको आधारमा मिति २०८२ कार्तिक १४ गते दिउँसो १२:२० बजे काठमाडौं–१७ क्षेत्रपाटीस्थित राजेन्द्र महर्जनको घरमा सञ्चालित प्रभात मल्लको कपडा पसलको चेन्जिङ रुमबाट CF98–9 मोडल नम्बर 00085808236 लेखिएको पेस्तोल एक थान, म्याग्जिन एक थान र 311 24 लेखिएका १५ थान गोली बरामद गरिएको हो।
अनुसन्धानबाट सो हातहतियार मिति २०८२ कार्तिक १३ गते स्वयम्भूस्थित प्रहरी वृत्तबाट लुटिएको पुष्टि भएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा धादिङ धुनिवेशी गाउँपालिका घर भई हाल काठमाडौं–१५ ट्राफिक बिट नजिक चरापसलमा काम गर्ने २१ वर्षीय कृष्ण गुरुङ, काठमाडौं–१५ भगवानपाउका २५ वर्षीय राजन देउला, भारत मोतिहारी सितामढी घर भई हाल काठमाडौंमा बसोबास गर्दै आएका २४ वर्षीय अकबर खान, काठमाडौं–१५ बिजेश्वरी निवासी २६ वर्षीय सुमिन शाक्य र काठमाडौं–३१ नयाँबानेश्वर घर भई हाल क्षेत्रपाटीमा कपडा पसल सञ्चालन गर्दै आएका ३८ वर्षीय प्रभात मल्ल रहेका छन्।
प्रहरीका अनुसार कृष्ण गुरुङले कार्यालयबाट पेस्तोल लुटेर राजन देउलालाई दिएको, देउलाले अकबर खानलाई, खानले सुमिन शाक्यलाई रु ६५ हजारमा बिक्री गरेको र अन्ततः शाक्यले प्रभात मल्ललाई रु १ लाखमा बिक्री गरेको खुलेको छ। बरामद गरिएको पेस्तोल र गोलीसहित पाँचै जनालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त स्वयम्भूले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।