काठमाडौं । सरकारको नीतिविपरीत ललितपुरमा रहेको पाटन अस्पतालले पार्किङको पैसा उठाउन टेन्डर आह्वान गरेको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०८० साल वैशाख १३ गते सबै सरकारी निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजहरुलाई परिपत्र गर्दै पार्किङ शुल्क नउठाउन निर्देशन दिएको थियो ।
तर मन्त्रालयको निर्देशनविपरीत सरकारी स्वामित्वको पाटन अस्पतालले अस्पतालको भूमिगत पार्किङ भाडामा लगाउने भन्दै असोज २८ गते एक राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशित गरेको हो ।
स्वास्थ्य सस्था सञ्चालनसम्बन्धी मापदण्ड २०७७ अनुसार सरकारी तथा निजी अस्पतालहरुले पार्किङ शुल्क उठाउन नपाइने भए पनि पाटन अस्पतालले सेवा शुल्क लिने गरी टेन्डर आह्वान गरेको हो ।
अस्पतालमा उपचार गर्न आउनेहरुलाई निः शुल्क सेवा दिन पर्नेमा पार्किङको भाडा लिने गरी टेन्डर आह्वान भएपछि ललितपुरका सरोकारवालाहरुले आपत्ति जनाउँदै त्यसलाई रोक्न माग गरेको छन् । ललितपुरका नागरिक समाजका अगुवाहरु सवीर नकर्मी, पृथविन्दु महर्जन, पवन शाही, नरेश शाहीलगायतले टेन्डर रोक्न माग गर्दै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको साथै ललितपुर महानगरपालिकामा समेत उजुरी गरेका छन् ।
नागरिक समाजका अगुवाहरुले अस्पतालमा आउने बिरामी, बिरामी कुरुवालगायतलाई निःशुल्क पार्किङको व्यवस्था गर्न माग गर्दै गरेको उजुरीमा ‘देशको विभिन्न स्थानबाट उपचार गर्नका निम्ति जे–जस्तो दुःख गरी उपचार गर्न आउने बिरामी, बिरामी कुरुवालगायतबाट पुनः पार्किङस्थल भाडा असुली गर्ने कार्य कानुनी र नैतिक हिसाबले पनि मान्य हुने कार्य होइन,’ भनिएको छ ।
पार्किङ शुल्कबारे बुझ्न पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार प्रो.डा. पारस कुमार आचार्यलाई फोन सम्पर्क गर्दा उनले सरकारले सञ्चालन खर्च व्यहोरेदेखि पार्किङ शुल्क उठाउने निर्णयबाट आफुहरु पछि हट्न सक्ने तर सरकारले जिम्मा नलिने हो भने यो लागू हुने बताए ।
पाटन अस्पताललाई अन्य सरकारी अस्पतालहरु टिचिङ वीर अस्पतालसँग तुलाना गर्न नहुने बताउँदै उनले पाटन अस्पताल आफ्नै पौरखले सञ्चालन भइरहेको र यसमा सरकारको कुनै सहयोग नरहेको बताए ।
तर अस्पताल स्रोतका अनुसार पार्किङ शुल्क उठाउने निर्णय गराउन डा. आचार्यको भूमिका रहेको र अरुले निःशुल्क गरौँभन्दा पनि उनले नमानेको बताइएको छ । अस्पतालका एक कर्मचारीले आर्थिक दैनिकसँग कुरा गर्दै अस्पतालजस्तो संस्थाले पार्किङ भाडामा दिएर चल्न नहुने बताए ।