काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनिज (नास आईटी) ले दुई दिने नास आईटी एक्स्पो आयोजना गर्ने भएको छ । नास आईटीले कात्तिक २१ र २२ गते ‘टिग नास आईटी एक्स्पो २०२५’ आयोजना गर्न लागेको जानकारी दिएको हो । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हुने एक्स्पोमा विभिन्न आईटी सफ्टवेयर, प्रडक्ट र सेवाहरू प्रदर्शनीमा रहने छन् ।
स्थानीय प्रविधि र डिजिटल उद्यमशीलतालाई प्रवद्र्धन गर्नका लागि पहिलोपटक नास आईटी एक्स्पो गर्न लागेको नास आईटीका अध्यक्ष गौरव पाण्डेले बताए । ‘एक्स्पोले नेपालको आईटी कम्पनी, नेतृत्व र लगानीकर्तालाई एउटै प्लेटफर्ममा ल्याएर सहकार्य अवसर र नवीनतम प्रविधिका सम्भावनाहरूमा केन्द्य्रित हुन सहयोग गर्नेछ,’ आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पाण्डेले भने । यस्तै, नास आईटीका उपाध्यक्ष दिपेन चापागाईंले एस्पोका लागि आईटी र व्यावसायिक समुदायबाट आएको प्रतिक्रियाबाट निकै उत्साहित भएको बताए ।
सहकार्य, नवप्रवर्तन र विश्वासको बलमा नेपालको डिजिटल भविष्य निर्माण गर्ने एक्स्पो एक ऐतिहासिक माइलस्टोन हुने उनको भनाइ छ । नास आईटी एक्स्पोको शीर्ष प्रायोजकमा अकाउन्टिङ सफ्टवेयर टिग रहेको छ, जसअनुसार टिगद्वारा प्रस्तुत नास आईटी एक्सपो २०२५ को नामबाट एक्स्पो सञ्चालन हुनेछ । परम्परागत प्रदर्शनीभन्दा फरक हुने गरी यस कार्यक्रमलाई व्यावसायिक अवसर, सहकार्य र ब्रान्ड निर्माणको गतिशील मञ्चका रूपमा तयार गरिएको छ । एक्सपोमा विशेष गरी कृत्रिम बुद्धिमत्ता (एआई) र डिजिटल रूपान्तरणमा जोड दिइएको छ । नास–आईटी एक्स्पो केवल एक प्रदर्शनी नभएर नेपालका आईटी प्रतिभा र व्यावसायिक अवसरबीचको सेतु भएको नास आईटीकी महासचिव एलिसा श्रेष्ठले बताइन् ।
एक्स्पोमा ३० बढी आईटी सेवा र प्रडक्टहरूको प्रदर्शनी रहने छ । एक्स्पो अवलोकनकर्तालाई विशेष अफरको व्यवस्था समेत गरिएको नास आईटीले जनाएको छ । साथै, कम्पनीहरूले आफ्ना नवीनतम डिजिटल समाधानहरू सार्वजनिक गर्न र लाइभ पिच सेसनमार्फत आफ्नो सोच देखाउने सक्ने छन् ।
एक्स्पोमा उद्यमी, निजी तथा सरकारी क्षेत्रका उच्च अधिकारी, नीति निर्माता, लगानीकर्तालगायत सूचना प्रविधिमा इच्छुकहरू सहभागी हुन पाउने जनाइएको छ ।