काठमाडौं । जेन–जी आन्दोलनका क्रममा भएको दमन र त्यसपछिको आगजनीबारे जाँचबुझ गर्न गठन भएको आयोगको आग्रहका आधारमा प्रहरी मुख्यालयले काठमाडौं उपत्यकामा खटिएका तत्कालीन प्रहरी इञ्चार्जहरूलाई उपत्यका नछाड्न निर्देशन दिएको छ।
प्रहरी प्रधान कार्यालय, नक्सालले जाँचबुझ आयोगको पत्रका आधारमा काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीलाई पत्र पठाउँदै भदौ २३ र २४ गते आन्दोलनका समयमा खटिएका इञ्चार्जहरूलाई काठमाडौं उपत्यका बाहिर नजान व्यवस्था मिलाउन आदेश दिएको हो।
आयोगले ती इञ्चार्जहरूलाई कुनै पनि समयमा बयानका लागि उपस्थित गराउन सकिने भन्दै मुख्यालयलाई पत्र पठाएको थियो। सोही पत्रका आधारमा प्रहरी मुख्यालयले उपत्यका प्रहरी कार्यालयमार्फत आदेश जारी गरेको हो।
जाँचबुझ आयोगले आइतबारदेखि सोधपुछ प्रक्रिया सुरु गरेको छ। आयोगले आइतबार नख्खु कारागारका जेलरसँग प्रारम्भिक बयान लिएको जनाएको छ।
जेन–जी आन्दोलनका क्रममा भदौ २३ गते भएको गोली प्रहारमा २२ जनाको मृत्यु भएको थियो। घटनापछि आयोग गठन भई जिम्मेवार निकायका अधिकारीहरूबाट सोधपुछ र प्रमाण संकलनको काम अघि बढाइएको छ।