कतार (दोहा) । राष्ट्रपति रामचन्द्र पौडेल कात्तिक १८ देखि २० गतेसम्म कतारको राजधानी दोहामा आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन सोमबार यहाँ आइपुगेका छन् ।
कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल सो सम्मेलनमा सहभागी हुन प्रथम महिला सविता पौडेलसहित कतारको दोहा आइपुगेका हुन् । दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेलसहित कतारका विदेश मन्त्रालयका उच्चपदस्थ पदाधिकारीले राष्ट्रपति पौडेललाई स्वागत गरेका थिए ।
कतारको दोहामा हुन लागेको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ को मुख्य सत्रलाई राष्ट्रपति पौडेलले संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार कात्तिक १८ गते सम्बोधन गर्ने कार्यक्रम छ । सो सम्मेलनका अवसरमा कतारका अमिर शेख तमिम बिन हमद अल थानी र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलगायतसँग राष्ट्रपति पौडेलले भेटवार्ता गर्नेछन् ।
सम्मेलनमा वर्तमान विश्वले सामना गर्नुपरेको विकासको असमानता, जनसङ्ख्यामा आएको असन्तुलन र प्रविधिका कारण समाजमा परेको प्रभावलगायत विषयमा छलफल हुने बताइएको छ । राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को हाल नेपाल अध्यक्ष छ । कतारको औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति पौडेल कात्तिक २० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।