काठमाडौंं । सरकारले विभिन्न ११ देशमा रहेका नेपाली राजदूतहरुलाई नेपाल फर्किन भनेको छ । परराष्ट्र मन्त्रालयले चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रुस, साउदी अरेबिया, स्पेन, संयुक्त अधिराज्य, जापान र संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूतहरुलाई कात्तिक २० गतेभित्र फर्किन भनेको हो ।
परराष्ट्र मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीस्तरीय निर्णयबाट १७ गते पत्र पठाएको मन्त्रालयले जनाएको छ ।
‘महामहिमज्यूलाई अर्को व्यवस्था नभएसम्मका लागि परराष्ट्र मन्त्रालयमा रही कामकाज गर्ने गरी नेपाल बोलाउने कात्तिक १७ मा निर्णय (सम्माननीय प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीस्तरीय) भएको व्यहोरा जानकारी एवम् आवश्यक कार्यार्थ अनुरोध छ’, पत्रमा भनिएको छ, ‘साथै, नेपाल आउन महामहिमज्यूको नाममा यसअघि जारी भएको हवाई टिकट नै प्रयोग गरी २०८२ कात्तिक २० गतेभित्र मन्त्रालयमा सम्पर्क गर्न आइपुग्नु हुनसमेत सोही निर्णयअनुसार सादर अनुरोध छ ।’
यसअघि सर्वोच्च अदालतको संयुक्त इजलासले आइतबार मात्रै राजदूत फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।