काठमाडौं । ट्राभल कम्पनी गुरु ट्राभल्स लिमिटेडले अन्तर्राष्ट्रियस्तरको ट्रिप एड्भाइजर ट्राभलर्स च्वाइस अवार्ड २०२५ प्राप्त गरेको छ । यो सम्मानले गुरु ट्राभल्सलाई विश्वका शीर्ष १० प्रतिशत उत्कृष्ट ट्राभल कम्पनीहरूमध्ये एकको रूपमा मान्यता दिएको दाबी गरिएको छ ।
ट्रिप एड्भाइजरको यो वार्षिक पुरस्कार विश्वभरका यात्रुहरूको अनुभव र समीक्षाका आधारमा प्रदान गरिन्छ । यसले उत्कृष्ट सेवा, ग्राहक सन्तुष्टि र गुणस्तरीय यात्राको निरन्तर प्रतिबद्धता देखाउने कम्पनीहरूलाई सम्मान गर्ने गरेको छ । गुरु ट्राभल्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नवराज धरेलले यो सम्मानले अझ गुणस्तरीय सेवा दिन र नेपाली पर्यटनलाई विश्वमा फैलाउन थप प्रेरणा दिएको बताए ।
कम्पनीले पारदर्शी मूल्य प्रणाली, व्यक्तिगत सेवा, अत्याधुनिक प्रविधि र विश्वसनीय बुकिङ प्रणालीमार्फत पर्यटन व्यवसायमा नयाँ स्तर स्थापना गरेको उनको भनाइ छ । कम्पनीले देशभित्रका र अन्तर्राष्ट्रिय टुर प्याकेजहरू, हवाई टिकेटिङ, होटल बुकिङ, भिसा सेवा, सम्मेलन तथा इभेन्ट व्यवस्थापन र सवारी भाडा सेवालगायतका सम्पूर्ण यात्रासम्बन्धी सुविधाहरू एकै स्थानबाट उपलब्ध गराउँदै आएको छ ।