काठमाडौं । नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवा र नेपालको एक प्रमुख तथा विश्वसनीय निर्जीवन बीमा प्रदायक शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा नेपालीको स्वास्थ्य सुरक्षालाई लक्षित गर्दै नयाँ स्वास्थ्य बीमा योजना ‘सहारा हेल्थ इन्स्योरेन्स’ सार्वजनिक भएको छ ।
कम्पनीका अनुसार यो बीमा योजनाको मुख्य उद्देश्य देशभरका नागरिकहरूलाई सहज, भरपर्दो र डिजिटल माध्यमबाट स्वास्थ्य बीमा सेवा प्रदान गर्नु हो । यो योजना पाँच वर्षदेखि ६५ वर्ष उमेर समूहका नागरिकहरूका लागि उपलब्ध हुनेछ ।
सहारा हेल्थ इन्स्योरेन्सअन्तर्गत बीमितले अस्पताल भर्ना, आकस्मिक उपचार, शल्यक्रिया, औषधोपचार खर्च, ल्याब परीक्षणदेखि दुर्घटना उपचारसम्मको सेवा सुविधा प्राप्त गर्न सक्नेछन् । यो बीमा योजना दुई लाख, तीन लाख र छ लाख बीमांकका विकल्पहरूमा उपलब्ध छ र यसको प्रारम्भिक प्रिमियम मात्र एक हजार तीन सय ९९ रुपैयाँबाट सुरु हुन्छ ।
यस सहारा हेल्थ इन्स्योरेन्सअन्तर्गत नेपालभरिका मान्यता प्राप्त अस्पतालमा उपचार गराएर नगद प्राप्त गर्न सकिन्छ । त्यसैगरी, बीमित व्यक्तिले देशभरका शिखर इन्स्योरेन्सका २६ वटा नेटवर्क अस्पतालहरूमा क्यासलेस उपचार सुविधा पनि प्राप्त गर्न सक्नेछन् । यसले आकस्मिक अवस्थाहरूमा आर्थिक तनावविना उपचार सम्भव बनाउँछ । साथै, यस योजनामा एक पटकको निःशुल्क टेलिहेल्थ सल्लाह सेवा पनि समावेश गरिएको छ । जसले बीमितलाई स्वास्थ्य सल्लाह लिन अझ सजिलो बनाउँछ ।
यस योजनाको विशेष पक्ष भनेको, ग्राहकले एपमार्फत केही मिनेटमै यो बीमा खरिद गर्न सक्नेछन्– जुन प्रक्रिया सहज, छरितो र पूर्णरूपमा डिजिटल हुनेछ । केही सरल चरणहरू पूरा गरेपछि बीमा पोलिसी तुरुन्तै एसएमएस र इमेलमार्फत प्राप्त हुन्छ । यसको शुभारम्भ अवसरमा बोल्दै इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले भने, ‘सहारा हेल्थ इन्स्योरेन्सको सुरुवात बीमा डिजिटलाइजेसनको दिशामा अर्को महत्वपूर्ण कोशेढुङ्गा हो । यसले स्वास्थ्य बीमालाई अझ सुलभ, सरल र पहुँचयोग्य बनाउनेछ ।’