काठमाडौं, मोरङबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबाहक बसमा सवार एक युवक नागढुङ्गामा ब्राउन सुगरसहित पक्राउ परेका छन्।लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गा र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलीले सोमबार बिहान करिब ७:३० बजे बा.प्र.०१-००६ ख ९४५० नम्बरको यात्रुबाहक बसमा जाँच गर्दा युवकलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार बसको क्याबिन सिटमा सवार २५ वर्षीय फैजल अन्सारी (स्थायी ठेगाना: सुनसरी, इटहरी उपमहानगरपालिका–८) लाई शंका लागी जाँच गर्दा उनले लगाएको पाइन्टको खल्तिभित्र सेतो प्लास्टिकले बेरिएको अवस्थामा खैरो हिरोइन (ब्राउन सुगर) जस्तो देखिने पदार्थ फेला परेको थियो। उक्त पदार्थलाई प्लास्टिक हटाई मान्यता प्राप्त तराजुमा तौल गर्दा शुद्ध तौल १ ग्राम रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक सोधपुछमा अन्सारीले उक्त लागूऔषध आफूले सेवनका लागि ल्याएको भन्ने स्वीकारोक्ति दिएका छन्। फैजल अन्सारीलाई बरामद प्रतिबन्धित लागूऔषधसहित नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि प्रहरी वृत्त थानकोट, काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ।