नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी छोडेका नेता जनार्दन शर्मालाई फर्कन आग्रह गरेका छन्।माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण र अन्तिम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले शर्मालाई पुनः पार्टीमा फर्कन अपिल गरेका हुन्।
नेता अग्निप्रसाद सापकोटाका अनुसार प्रचण्डले बैठकमा भनिरहेका थिए, “अझै पनि तपाईं विचार गर्नुस्, फर्कनुस्, हामीलाई अझै अगाडि बढ्नुछ।”साथै उनले देशभक्त शक्तिहरूलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका थिए। सापकोटाले बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै भने, “राष्ट्रिय मुक्ति आन्दोलनका लागि शक्तिशाली आधार तयार भएको छ। समाजवादी क्रान्तितर्फ देश अघि बढ्दैछ। जेनजी आन्दोलनले समाजवादी क्रान्तिको एउटा झल्को दिएको छ।”
बैठकमा प्रचण्डले नेतृत्वको नयाँ टिम निर्माण र एकताबद्ध आन्दोलनमार्फत देशको राजनीतिक दिशा सुदृढ गर्नुपर्ने धारणा पनि व्यक्त गरेका थिए।