काठमाडौं । नेशनल लाइफ इन्स्योरेनस कम्पनीले नेपाल सरकारद्वारा स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा आर्थिक सहयोग प्रदान गरेको छ ।
गत भदौ २३ र २४ गते भएको जेन–जी प्रदर्शन र आन्दोलनको क्रममा देश भरका सार्वजनिक भौतिक संरचनामा भएको क्षतिको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतलगायत कार्यको लागि भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एक करोड रकमको आर्थिक सहयोग गरेको छ । उक्त रकमबराबरको चेक कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्री र नायब महाप्रबन्धक प्रज्वल सायमीले मंगलबार एक विशेष कार्यक्रममा अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई हस्तान्तरण गरेका हुन् ।
कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग रकम उपलब्ध गराएको हो । प्रमुख कार्यकारी अधिकृत खत्रीले उक्त अवसरमा कम्पनीले विगतमा शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन एवं वातावरण संरक्षणलगायत क्षेत्रमा आर्थिक सहयोग उपलब्ध गर्दै आएको उल्लेख गर्दै भविष्यमा पनि यसप्रकारको सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
कम्पनीले यस प्रयोजनको लागि नियामक निकायबाट जारी निर्देशनअनुसार प्रत्येक आर्थिक वर्षको खुद मुनाफाको एक प्रतिशत रकम छुट्याई संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्दै आएको छ ।