काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले संस्थागत आर्थिक अपराधविरुद्ध सहकार्य गर्ने भएका छन् । दुवै संस्थाले मंगलबार संस्थागत आर्थिक अपराधविरुद्ध सहकार्यका लागि पारस्परिक समझदारी–पत्रमा हस्ताक्षर गरेका हुन् । समझदारीपत्रमा आईक्यानका अध्यक्ष सीए निलबहादुर सारु मगर र सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोजकुमार केसीले हस्ताक्षर गरेका छन् । आर्थिक अपराध अनुसन्धान गर्नका लागि ज्ञान तथा दक्षता अभिवृद्धि गर्न, लेखापरीक्षणसँग सम्बन्धित विषयमा सूचना आदानप्रदान गरी समन्वय र सहकार्य गर्न, नक्कली लेखापरीक्षकविरुद्ध कारबाही गर्न, संस्थागत वित्तीय ठगी, आर्थिक तथा वित्तीय अपराधसँग सम्बन्धित विषयमा सार्वजनिक जनचेतना अभिवृद्धि गर्न आवश्यक समन्वय, सहकार्य र सहयोग आदानप्रदान गर्न सम्झौताले सहयोग पुग्ने जनाइएको छ ।
समझदारीअन्तर्गत संस्थाले ब्युरोलाई प्राविधिक तथा विशेषज्ञसम्बन्धी सहयोग गर्ने तथा संस्थाले सञ्चालन गर्ने फरेन्सिक अकाउन्टिङ एन्ड फ्रडडिटेक्सन (एफएएफडी) सर्टिफिकेसन कोर्समा ब्युरोका कर्मचारीलाई संलग्न गरी कर्मचारीहरुको ज्ञान तथा दक्षता अभिवृद्धि गर्नको लागि आवश्यक व्यवस्था गर्ने उल्लेख गरिएको छ । समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा आईक्यानका अध्यक्ष तथा सीआईबीका प्रमुखले वर्तमान समयमा संस्थागत वित्तीय अपराधहरु व्यापक मात्रामा बढ्दै गएकाले सोको अनुसन्धान तथा नियन्त्रण गर्न आवश्यक ज्ञान सीप तथा दक्षता अभिवृद्धि गर्न, गैरकानुनी वा अनाधिकृतरुपमा हुने लेखापरीक्षण वा लेखा व्यवसायलाई नियन्त्रण गर्न तथा संस्था र व्युरोबीच आपसी सूचना आदानप्रदानमा समझदारीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
दुवै निकायहरुबीचको यस समझदारीपत्रको प्रभावकारीरुपमा कार्यान्वयनबाट नेपालको वित्तीय अपराध अनुसन्धान तथा नियन्त्रण, लेखापरीक्षण क्षेत्रमा रहेको अवाञ्छित क्रियाकलापहरु नियन्त्रण गर्न सहयोग पुग्ने तथा आइक्यानका सदस्यहरुको हितको संरक्षण हुने विश्वास गरिएको छ ।