सिन्धुपाल्चोक , इन्द्रावती गाउँपालिका–१ स्थित भुवनेश्वरी आधारभूत विद्यालयकी प्रधानाध्यापक अन्जना भण्डारीमाथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खाम्सोङ तामाङले कार्यकक्षमै कुटपिट गरेका छन्। बुधबार विद्यालय व्यवस्थापन समितिको बैठक चलिरहेका बेला समितिको पुनर्गठन सम्बन्धी छलफलकै क्रममा अध्यक्ष तामाङले एक्कासी प्रधानाध्यापक भण्डारीमाथि हातपात गरेको सहभागीहरूले बताएका छन्। “म र भण्डारी म्याडम निर्णय लेख्दै निहुरेर बसिरहेका थियौँ। अचानक अध्यक्षले मुड्की प्रहार गर्नुभयो,” बैठकमा सहभागी वडा सदस्य नरेश तामाङले बताए। उनका अनुसार, निर्णय लेख्न केही असहज देखिएपछि सहयोग गरिरहेका बेला अध्यक्ष एक्कासी आक्रोशित बनेका थिए। कुटपिटबाट प्रधानाध्यापक भण्डारीको आँखामा चोट लागेको छ। घटनापछि विद्यालय परिसरमा तनावपूर्ण अवस्था सिर्जना भएको थियो। घाइते भण्डारीसँग सम्पर्क गर्न खोज्दा उनको मोबाइल स्विच अफ रहेको पाइएको छ। यस घटनाप्रति नेपाल शिक्षक महासंघ, इन्द्रावती गाउँपालिकाले कडा आपत्ति जनाएको छ। महासंघले विज्ञप्ति जारी गर्दै दोषीमाथि तत्काल कानुनी कारबाही गर्न माग गरेको छ। कारबाही नभए आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी पनि दिएको छ।